Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि विकास कार्यालयबाट सञ्चालित योजनाको संयुक्त अनुगमन 

कृषि विकास कार्यालय रुकुम पश्चिम मार्फत चालु आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको संयुक्त अनुगमन गरिएको छ । शुक्रवार जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भएका योजनाको जिल्लास्थित संयुक्त टोलीले अनुगमन गरेको हो । 

कार्यालयका अनुसार जिल्लाका विभिन्न पालिकामा सञ्चालन भएका ६ वटा योजनाको अनुगमन भएको हो । योजनाको अवस्था, प्रभावकारिता, दिगोपना, त्यसले स्वरोजगार हुन गरेको योगदान, उत्पादनको अवस्था, चुनौती, बजारीकरण लगायतका विषयमा अनुगमन गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख लालबहादुर भण्डारीले जानकारी दिनुभयो । 

karesa-bari-1783787763.jpeg
मुसिकोट ११ राता पहरमा युवा लक्षित कार्यक्रम मार्फत अनुदान पाएको खड्का व्यावसायिक कृषि फर्म, मुसिकोट ३ माछिमिमा साना सिँचाइ निर्माण तथा मर्मत सम्भार अन्तर्गत निर्माण भएको घिउखोला भोटेमारे सिँचाइ कुलो र माछिमिमै व्यावसायिक तरकारी खेति प्रवद्र्धन कार्यक्रम अन्तर्गतको सानीभेरी ताजा तरकारी तथा बिउ उत्पादन कृषि फर्मको अनुगमन गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै रोड कोरिडोर तरकारी उत्पादन कार्यक्रम (भेरी, राप्ती र मध्यपहाडी) अन्तर्गत बाँफिकोट ३ पैँयाबारामा सञ्चालित स्यार्पू ताल बहुउद्देश्यीय कृषि तरकारी तथा पशुपक्षी फर्म, रोड कोरिडोर कार्यक्रम अन्तर्गत नै बाँफिकोट ४ छिनखेतमा सञ्चालित सानीभेरी स्वावलम्बन कृषक समूह र सुन्तला जात फलफूल बगैँचा स्थापना तथा सुदृढीकरण कार्यक्रम अन्तर्गत सानीभेरी ८ विप्पेमा सञ्चालित दाजुभाइ कृषि तथा पशुपक्षी फर्मको पनि अनुगमन गरिएको उहाँले बताउनुभयो । 

nahar-1783787765.jpeg
अनुगमनका क्रममा उक्त कार्यक्रमहरू प्रभावकारी र उद्देश्य अनुसार सञ्चालनमा रहेको पाइएको उहाँले बताउनुभयो । अनुदानको सदुपयोग भएको र त्यसले कृषकलाई व्यावसायिक बनाउन योगदान गरेको अनुगमन टोलीले निष्कर्ष निकालेको उहाँको भनाई छ । साथै अनुगमन टोलीले सुधार गर्नुपर्ने र व्यवसायलाई दिगो बनाउन ध्यान दिनुपर्ने विषयमा सल्लाह तथा सुझाव दिएको उहाँले बताउनुभयो । 

यसका साथै समस्या देखिएका ठाउँमा उक्त समस्यालाई हल गर्न समेत कृषकहरूलाई भनिएको थियो । अनुदान लिने तर व्यवसाय सञ्चालन नगर्ने समस्या समेत रहेको अवस्थामा जिल्लामा भने कृषि विकास कार्यालयको अनुदान सदुपयोग भएको निमित्त प्रमुख भण्डारीले बताउनुभयो । 

krisi-1783787768.jpeg
अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम लगायत जिल्लास्थित सरोकारवालाहरूको सहभागिता रहेको कार्यालयका बाली संरक्षण अधिकृत अग्रिम धितालले जानकारी दिनुभयो ।

krisi-biruwa-1783787762.jpeg
nahar-anugaman-1783787965.jpeg

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update