रुकुम पश्चिमको चौरजहारीमा डिप बोरिङको परीक्षण सफल भएको छ । चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पहल तथा चौरजहारी नगरपालिकाको समन्वयमा वडा नम्बर ३ को दमार क्षेत्रमा गरिएको डिप बोरिङ अर्थात् जमिन मुनिबाट पानी निकाल्ने कार्यको परीक्षण सफल भएको हो ।
संस्थाले दुई स्थानमा गरेको डिप बोरिङ परीक्षणका क्रममा जमिनको ४८ मिटर गहिराइबाट स्वच्छ पानी निस्किएको छ । संस्थाका व्यवस्थापक वसन्त भण्डारीका अनुसार ३६ मिटर गहिराइमा धमिलो पानी भेटिएको थियो भने त्यो भन्दा मुनिको भागबाट सफा पानी निस्किएको हो ।
दमार क्षेत्रमा गरिएको दुवै स्थानको डिप बोरिङ परीक्षण सफल भएको संस्थाका अध्यक्ष तेजबहादुर बटालाले जानकारी गराउनुभयो । उहाँका अनुसार डिप बोरिङको काम ध्रुवतारा डिप बोरिङ कन्स्ट्रक्सन प्रालि, नेपालगन्जले गरेको हो । यसमा १५ लाख बढी खर्च भएको बताइएको छ । वडा नम्बर २ मा यसअघि पनि बोरिङ परीक्षण गरिएकामा सफल हुन सकेको थिएन ।
अब एक साताभित्र बोरिङ गरिएको स्थानमा मोटर जडान गरी भूमिगत पानीलाई फिल्टर ट्याङ्की हुँदै मुख्य खानेपानी ट्याङ्कीमा झारेर उपभोक्तालाई वितरण गर्ने तयारी गरिएको अध्यक्ष बटालाले बताउनुभयो । हाल यसै संस्थामार्फत चौरजहारी नगरपालिका-१, २ र ३ नम्बर वडाका करिब २१ सयभन्दा बढी धारामा खानेपानी वितरण हुँदै आएको छ ।
यो सफल परीक्षणले चौरजहारीमा देखिएको खानेपानीको समस्या हल हुने विश्वास गरिएको छ । पर्याप्त मुहान नहुँदा चौरजहारी बजार क्षेत्रमा वर्षौँ देखि खानेपानीको अभाव छ । पछिल्ला वर्षहरूमा भने भेरीको पानी लिफ्टिङ प्रविधि मार्फत बजारमा वितरण भइरहेको छ । जसले गर्दा समस्या केही हल भएको छ ।
हाल दमार क्षेत्रमा ३ सय घन मिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरी सेवा सञ्चालन गरिएको भए पनि पछिल्ला वर्षहरूमा भेरी नदीको बहाव घट्दै गएको र प्राकृतिक विपद्का कारण मोटर तथा जेनेरेटरमा पटक-पटक समस्या आउँदा नियमित खानेपानी आपूर्तिमा कठिनाइ हुँदै आएको छ ।







-1759842583.jpg)