जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लाका व्यापारीहरूलाई खाना पकाउने एलपी ग्यासको अभाव सिर्जना नगर्न भनेको छ । आज एक सूचना जारी गर्दै प्रशासनले कृत्रिम अभाव, कालोबजारी र अनुचित मौज्दात तथा अनुचित मूल्य नलिन भनेको छ ।
साथै प्रशासनले उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास सञ्चय नगरी आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ । यसका साथै प्रशासनले केही ग्यास बिक्रेताबाट तोकिएभन्दा बढी मूल्य लिएको भन्ने गुनासा प्राप्त भएको भन्दै यस्ता कार्य नगर्न सचेत बनाएको छ ।
यस्ता गैर कानुनी कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । साथै कुनै पनि डिलर वा बिक्री वितरण केन्द्रमा तोकिएभन्दा बढी मूल्य असुल गरिएको, कृत्रिम अभाव सिर्जना गरिएको, ग्यास लुकाइएको वा कालोबजारी गरिएको भएमा प्रमाण सहित जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
बजारमा पछिल्लो समय एलपी ग्यासको अभाव देखिएको भन्ने विषयले गम्भीर ध्यानाकर्षण समेत भएको प्रशासनले उक्त सूचना मार्फत उल्लेख गरेको छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय तथा सहजीकरण गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा एलपी ग्यास आपूर्ति गर्ने कम्पनीहरूसँग समन्वय गरी आपूर्ति वृद्धि गर्न समेत आग्रह गरिएको जानकारी गरिएको छ । यसका साथै कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात तथा अनुचित मूल्य नियन्त्रणका लागि निरन्तर बजार अनुगमन समेत भइरहेको कार्यालयले जनाएको छ ।
विशेष गरी जिल्ला सदरमुकाम मुसिकोटमा पछिल्ला केही दिन देखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास पसलहरूमा उपभोक्ताको ठुलो भिड लाग्ने गरेको छ ।








-1759842583.jpg)