रुकुम पश्चिममा पछिल्लो तीन वर्षमा सवारी साधन कारबाही घट्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ देखि बितेको आर्थिक वर्ष २०८२/०८३ को जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सवारी साधन कारबाहीमा कमी देखिएको हो ।
सवारी साधन कारबाहीमा पर्ने क्रम घट्दो अवस्थामा रहेकोमा यसबाट उठ्ने राजस्व पनि घट्दो क्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो बिचमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेको सङ्ख्या भने बढेको छ ।
बितेको आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला भरमा कुल ३ हजार १ सय ५८ वटा सवारी साधन कारबाहीमा परेका छन् । जसमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने २ सय ३० जना चालकलाई कारबाही गरिएको छ । १ वर्षमा सवारी कारबाहीबाट २७ लाख ९७ हजार ५ सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारीले जानकारी गराउनुभयो ।
यो वर्ष कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । १ हजार ५ सय ८९ वटा मोटरसाइकल कारबाहीबाट सबैभन्दा बढी १३ लाख ४९ हजार राजस्व सङ्कलन भएको अधिकारीले जानकारी दिनुभयो । ६ सय ३४ वटा कार, जिप, भ्यान कारबाहीबाट ५ लाख ८२ हजार ५ सय र २ सय २१ वटा ट्रक, ट्याक्टर कारबाहीमा पर्दा २ लाख २७ हजार ५ सय राजस्व उठेको उहाँले बताउनुभयो ।
बितेको वर्ष भन्दा अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला भरमा कुल ३ हजार ७ सय २६ वटा सवारी साधन विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका थिए । उक्त वर्ष ३३ लाख ६० हजार ५ सय राजस्व सङ्कलन भएको थियो । त्यस वर्ष मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १ सय ६४ जना कारबाहीमा परेको थिए ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा सवारी कारबाही सङ्ख्या ५ हजार ६ सय ७५ रहेको थियो । उक्त वर्ष ४१ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ९६ जना चालक कारबाहीमा परेका थिए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले यो वर्ष जेनजी आन्दोलन पछि सवारी जाँच तथा कारबाहीमा केही कमी देखिएको बताउनुभयो । साथै उक्त आन्दोलनका कारण सर्भरमा समस्या हुँदा अनलाइन राजस्व सङ्कलनमा समस्या हुँदा पनि काम प्रभावित भएको उहाँको भनाई छ । उहाँका अनुसार यसका साथै चालकहरूमा ट्राफिक नियम सम्बन्धी सचेतना बढेका कारण पनि ट्राफिक नियम उल्लङ्घन गर्नेहरूको सङ्ख्या घट्दो छ ।
क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजात नभएका, रुट परमिट नभएका, तीव्र गति लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीमा परेको बताइएको छ ।
दुर्घटना भने बढ्दो
तीन वर्षको अवधिमा जिल्लामा सवारी दुर्घटना भने बढ्दो क्रममा पाइएको छ । बितेको आर्थिक वर्षमा जिल्ला भरमा १ सय ३९ वटा सवारी दुर्घटना भएका थिए । जसमा २२ जनाले ज्यान गुमाएका थिए भने २ सय ६३ जना घाइते भएको अधिकारीले बताउनुभयो ।
त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा पनि १ सय ३९ वटा सवारी दुर्घटनामा परेका थिए । जसमा १३ जनाले ज्यान गुमाएका थिए भने २ सय ३४ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा भने जिल्ला भर ८० वटा सवारी दुर्घटना भएका थिए ।
उक्त दुर्घटनामा २३ जनाको मृत्यु हुँदा १ सय ५५ जना घाइते भएका थिए । सवारी चाप, साँघुरा सडक, ट्राफिक सचेतनामा कमी लगायतका चुनौतीहरू रहेको र यसले दुर्घटनाको जोखिम तथा सवारी अस्तव्यस्तता थपिँदै गएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज अधिकारीले जानकारी गराउनुभयो ।
सचेतनामा जोड
यिनै समस्यालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रममा समेत जोड दिएको छ । बितेको आर्थिक वर्षमा जिल्ला भरमा ९ सय ४२ वटा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।
जसबाट कुल ७१ हजार ७ सय ३५ जना नागरिक समेटिएका छन् । यसमा महिला २२ हजार ९ सय ६२, पुरुष २६ हजार १ सय १८, बालक ११ हजार ९ सय २३ र बालिका १० हजार ७ सय ३२ जना रहेको अधिकारीले बताउनुभयो ।





-1759842583.jpg)