यातायात सेवा व्यवस्था कार्यालय रुकुम पश्चिमको सेवा रोकिएको छ । सिस्टम अपडेटका कारण सेवा रोकिएको कार्यालयले एक सूचना जारी गर्दै जानकारी गराएको छ । चालक अनुमति पत्र तथा सवारी दर्ता प्रणालीको नयाँ संस्करण कार्यान्वयनमा ल्याउन र करका दरहरू प्रविष्ट गर्नुपर्ने भएकोले तत्कालका लागि सेवा रोकिएको कार्यालयको भनाई छ ।
सवारी दर्ता/नामसारी एवम् सवारी चालक अनुमति पत्र तर्फका सबै सेवाहरू हाललाई अवरुद्ध रहने कार्यालयले सूचना मार्फत स्पष्ट पारेको छ । यातायात व्यवस्था विभागद्वारा साउन १ गते देखि विद्युतीय सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता प्रणालीको नयाँ संस्करण इ.डी.एल.भि.आर.एस. प्रणाली कार्यान्वयनमा ल्याउने सूचना प्रकाशित भएको सन्दर्भमा उक्त प्रणालीका लागि माथिबाटै काम भइरहेको कार्यालयको भनाई छ ।
उक्त नयाँ प्रणालीलाई सञ्चालनमा ल्याउनका लागि कर्णाली प्रदेश आर्थिक ऐन, २०८३ ले तोकेका करका दरहरू कर्णाली प्रदेश, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा प्रविष्टि गर्नुपर्नेमा सो कार्य भइरहेको र उक्त प्रणाली सञ्चालनका लागि आवश्यक प्राविधिक एवम् व्यवस्थापकीय तयारी समेत पूरा नभइसकेकोले अहिले तत्कालका लागि सेवा बन्द गर्नुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ ।
आवश्यक तयारी पूरा भई प्रणाली सञ्चालनमा आए लगतै पुनः सूचना जारी गरी सुचारु गर्ने मन्त्रालय समेतको सहमति रहेको कार्यालयले स्पष्ट पारेको छ । साथै कार्यालयले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा समेत मागेको छ ।





-1759842583.jpg)