रुकुम पश्चिममा धान रोपाई अन्तिम चरणमा पुगेको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म खेतीयोग्य जमिनको ९४ प्रतिशत धान रोपाई सकिएको छ । जिल्लामा अझै धान रोपाई चलिरहेको कार्यालयका कृषि अर्थ विज्ञ दिवाकर गौतमले जानकारी दिनुभयो ।
जिल्लाको चौरजहारी लगायतका केही ठाउँमा धान रोपाई चलिरहेको उहाँले बताउनुभयो । जिल्लामा धान खेती हुने कुल जमिनको क्षेत्रफल ३ हजार ४३ हेक्टर रहेको छ । जिल्लामा यो वर्ष केही बाहेक लगभग सबै क्षेत्रफलमा रोपाई हुने अपेक्षा गरिएको गौतमले बताउनुभयो ।
अहिलेसम्म ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको र अझै रोपाई चलिरहेकोले यो बढ्ने उहाँको भनाई छ । यो वर्ष खेती योग्य जमिनको ९८ प्रतिशत जति रोपाई हुने अपेक्षा गरिएको छ । विभिन्न कारणले जिल्लामा केही खेती योग्य जमिनमा भने धान खेती हुने गरेको छैन् ।
जिल्लामा मुख्य गरी असार पहिलो साता देखि साउनको पहिलो साताको बिचमा धान रोपाई हुने गरेको छ । यस वर्ष मनसुन सुरु हुन समय लागेकोले जिल्लामा धान रोपाई सामान्य प्रभावित भए पनि ठुलो समस्या भने नदेखिएको कार्यालयले जनाएको छ ।
जिल्लामा धान रोपाइमा मुख्य गरी मौसमले प्रभाव पार्ने गरेको छ । त्यस्तै मल अभाव लगायतका कारणले पनि धान रोपाई प्रभावित हुने गरेको छ । धान रुकुम पश्चिमको प्रमुख खाद्य बाली मध्येको एक हो । जिल्लाका सबै ६ वटै पालिकामा धान खेती हुने गर्छ ।





-1759842583.jpg)