Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल शिक्षक महासंघ रुकुम पश्चिमको तेस्रो जिल्ला परिषद् सम्पन्न

नेपाल शिक्षक महासङ्घ रुकुम पश्चिमको तेस्रो जिल्ला परिषद् मुसिकोटमा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका १ खलङ्गाको त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको परिषद्मा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय भएको छ । 

परिषद्बाट महासङ्घलाई सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ । नेपाल शिक्षक महासंघ रुकुम पश्चिमलाई २०८२ मा राष्ट्रिय समितिको आह्वानमा भएको आन्दोलनको क्रममा ५० हजार आर्थिक सहयोग गर्ने मुसिकोट १ खलङ्गा निवासी समाजसेवी तथा राजनीतिज्ञ राजु के.सी. लाई सम्मान पत्र र खादाले सम्मान गरिएको हो । 

त्यस्तै शिक्षक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको र शिक्षकको हक हितको पक्षमा निरन्तर आवाज बुलन्द गरेको भन्दै नेपाल शिक्षक सङ्घका अध्यक्ष डम्बरबहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष यमराज ओली र नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शेरबहादुर केसीलाई प्रशंसा पत्र प्रदान गरिएको बताइएको छ ।

महासङ्घका जिल्ला समिति अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको परिषद्को सञ्चालन सचिव शेरबहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य शशीराम विश्वकर्माको प्रमुख र शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख माधवी पुनको विशेष आतिथ्यता रहेको थियो ।

परिषद्ले आगामी श्रावण १६ र १७ गते काठमाडौँमा हुने नेपाल नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद्लाई सफल पार्न जिल्लाबाट सहभागिता हुने सहित यसका सम्बन्धमा विभिन्न निर्णयहरू समेत गरेको महासङ्घका जिल्ला सचिव शेरबहादुर खड्काले जानकारी दिनुभयो । शिक्षक महासंघ शिक्षकहरूको छाता सङ्गठन हो । यसले शिक्षकको हक हित र नीति निर्माण लगायतका काममा सघाउने काम गर्छ ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update