यातायात सेवा व्यवस्था कार्यालय रुकुम पश्चिम चौरजहारीले बितेको आर्थिक वर्ष २०८२/०८३ मा साढे ३ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा ३ करोड ५९ लाख ३७ हजार एक सय ४१ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले सबैभन्दा बढी सवारी साधन कर ३ करोड १५ लाख १० हजार चार सय २६, चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ४२ लाख ११ हजार र बेरुजु असुली एक लाख ४५ हजार पाँच सय सङ्कलन भएको कार्यालय प्रमुख मोहन केसीले जानकारी दिनुभयो ।
त्यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ६४ हजार ७ सय १५ र अन्य प्रशासनिक सेवा शुल्क ५ हजार ५ सय सङ्कलन भएको उहाँले बताउनुभयो ।
साढे १२ सय लाइसेन्स जारी
कार्यालयबाट एक वर्षको अवधिमा साढे १२ सय सवारी चालक अनुमति पत्र जारी भएका छन् । नयाँ, नवीकरण, वर्ग थप र प्रतिलिपि गरी एक वर्षमा एक हजार दुई सय ४३ वटा सवारी चालक अनुमति पत्र लाइसेन्स जारी भएका हुन् ।
जसमा नयाँ सवारी चालक अनुमति पत्र आठ सय २८ वटा, वर्ग थप एक सय ९० वटा, नवीकरण एक सय दुई सय २० वटा र प्रतिलिपि पाँच वटा रहेको केसीले बताउनुभयो ।
जिल्लामै लाइसेन्स वितरण हुन थालेसँगै जिल्लावासीलाई दाङ, नेपालगन्ज, सुर्खेत लगायतका ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । रुकुम पश्चिम मात्र नभई आसपासका जिल्लावासीहरूलाई समेत सहज भएको छ ।
साढे आठ सय सवारी दर्ता
यसैबिच आठ सय ४७ वटा सवारी साधन दर्ता भएका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर ८ सय २४ वटा रहेका छन् । यस बाहेक कार, जिप, पिक अप, माइक्रो बस १२ वटा, टेम्पो अटो रिक्सा ६ वटा, ट्याक्टर, पावर टेलर ३ वटा र बस, ट्रक, मिनिबस, मिनिट्रक र अन्य २ वटा दर्ता भएको कार्यालय प्रमुख केसीले जानकारी गराउनुभयो ।
वित्तीय प्रगति ८८ प्रतिशत
यसका साथै कार्यालयले ८८.७३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु र पुँजीगत गरी कुल एक करोड २९ लाख ३५ हजार बजेट रहेकोमा कार्यालयले एक करोड १४ लाख ७८ हजार रुपैयाँ खर्च गरेको उहाँको भनाई छ ।
के के सेवा दिइरहेको छ ?
यस कार्यालयले सवारी साधन दर्ता, नामसारी, लगत कट्टा, सरुवा दर्ता, सरुवा सहमति, सवारीको स्वरूप हेरफेर, सवारी दर्ता प्रमाणपत्र नवीकरण, सो को प्रतिलिपि, रुट परमिट, अस्थायी रुट, सवारी चालक अनुमति पत्र वितरण नवीकरण, सवारी साधनको यान्त्रिक परीक्षण लगायत यातायात सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गरिरहेको छ ।
सवारी अनुगमन, निरीक्षण तथा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम, राजस्व सङ्कलन, जिल्लामा सञ्चालित सवारी रुटहरूको भाडा दर कायम, सडक सुरक्षा सम्बन्धी विद्यार्थी तथा सराेकारवालाहरुसँग अन्तरक्रिया लगायतका काम समेत यस कार्यालयले गर्छ ।
यस कार्यालयबाट रुकुम पश्चिम सहित रुकुम पूर्व, जाजरकोट, सल्यान, डोल्पा, सुर्खेत, दैलेख लगायत जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।





-1759842583.jpg)