Kakhara सबैको खबर सम्पूर्ण खबर
बरदान बन्दै हवाई उद्धार कार्यक्रम, रुकुम पश्चिमबाट १ वर्षमा १८ जना महिला तथा शिशुको उद्धार 

बितेको आर्थिक वर्ष २०८२/०८३ मा रुकुम पश्चिमबाट १८ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरिएको छ । गम्भीर अवस्थामा रहेका गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभरमा बितेको वर्ष राष्ट्रिय महिला सशक्तीकरण परियोजना कार्यक्रम मार्फत हेलिकोप्टर मार्फत १८ जना गर्भवती तथा सुत्केरी र नवजात शिशुको उद्धार गरिएको हो । 

सरकारले यो कार्यक्रम मार्फत गम्भीर अवस्थामा रहेका गर्भवती महिला तथा सुत्केरी आमा र नवजात शिशुहरूको हेलिकोप्टर मार्फत निःशुल्क उद्धार गर्ने गरेको छ । स्वास्थ्य सेवा कार्यालयबाट ११ जना, आठबिसकोट नगर अस्पतालबाट ३ जना र चौरजहारी अस्पतालबाट ४ जनाको उद्धार गरिएको हो । 

जिल्लामा उपचार सम्भव नभएका बिरामीहरूलाई हवाई उद्धार गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरका लागि माथिल्लो निकायमा सहजीकरण गर्ने गरेको छ । 

यसमा स्थानीय पालिका तथा अन्यको पनि पहल रहने गरेको छ । विशेष गरी दुर्गममा राम्रो उपचार पाउन नसक्ने अवस्थामा रहेका तथा तत्कालै राम्रो उपचार सेवा आवश्यक पर्नेहरूलाई हवाई उद्धार गर्ने गरिएको छ । जिल्लाबाट उद्धार गरेर विशेष गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लैजाने गरिएको छ । 

जिल्लामा अप्रेसन मार्फत सुत्केरी गराउँदा समस्यामा परेका, घरमै सुत्केरी भएर समस्या भएर स्वास्थ्य संस्थामा आएका, जिल्लामा उपचार सम्भव नभएका गर्भवती महिला तथा सुत्केरी र नवजात शिशुलाई थप उपचारका लागि रिफर गर्ने गरिएको छ । 

यस्तो अवस्थामा तत्कालै उपचार आवश्यक रहने भएकाेले हेलिकोप्टर मार्फत उद्धार गर्ने गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियारले बताउनुभयो । उहाँका अनुसार जिल्लामा उपचार सम्भव नभएको अवस्थामा मात्र रिफर गर्ने गरिएको छ । 

त्यस्तै बच्चाका लागि एन आइसियु लगायतका सुविधा नभएकोले पनि रिफर गर्नुको विकल्प नभएको उहाँको भनाई छ । राष्ट्रिय महिला सशक्तीकरण परियोजना कार्यक्रम रुकुम पश्चिम जस्ता ग्रामीण भेगका गर्भवती, सुत्केरी तथा जोखिममा रहेका नवजात शिशुहरूका लागि वरदान साबित बनेको छ । याे कार्यक्रमले जाेखिममा रहेका महिला तथा नवजात शिशुकाे ज्यान जाेगाइरहेकाे छ । 

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update