Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एक वर्षमा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाए
फाइल फाेटाे ।

रुकुम पश्चिममा बितेको आर्थिक वर्ष ०८२/०८३ मा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । एक वर्षको अवधिमा भएका विभिन्न सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार एक वर्षमा जम्मा एक सय ३९ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ जना पुरुष, चार जना महिला, दुई बालक र चार बालिका गरी कुल २२ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै दुई सय ६२ जना घाइते भएका थिए । 

जसमा गम्भीर घाइते एक सय ४८ जना र साधारण घाइते एक सय १४ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा एक वर्षको अवधिमा सबैभन्दा बढी मोटरसाइकल ८७ वटा दुर्घटना भएका छन् । त्यस्तै ट्याक्टर र टेम्पो २४/२४ वटा, जिप, कार २३ वटा, माइक्रो र टिप्पर ५/५ वटा, डोजर ४ वटा र बस एउटा दुर्घटनामा परेका छन् । 

पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा सवारी दुर्घटना बढ्दो क्रममा पाइएको छ । बितेको आर्थिक वर्षमा जिल्ला भरमा १ सय ३९ वटा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएकामा त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ सय ३९ वटा सवारी दुर्घटनामा परेका थिए । 

जसमा १३ जनाले ज्यान गुमाएका थिए भने २ सय ३४ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा भने जिल्ला भर ८० वटा सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा २३ जनाको मृत्यु हुँदा १ सय ५५ जना घाइते भएका थिए । 

सवारी चाप, साँघुरा सडक, ट्राफिक सचेतनामा कमी लगायतका चुनौतीहरू रहेको र यसले दुर्घटनाको जोखिम तथा सवारी अस्तव्यस्तता थपिँदै गएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवीन अधिकारीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update