रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ लाई २ वटा वडामा विभाजन गर्न वडावासीले माग गरेका छन् । ठुलो वडा भएका कारण वडावासीलाई प्रशासनिक असहजता भएको भन्दै वडावासीले २ वटा वडाको माग गरेका हुन् ।
वडावासीले आज गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै राज्य पुनर्संरचनाका क्रममा अन्य गाविसलाई एक भन्दा बढी वडामा विभाजन गरिएकामा साबिकको सिंगाे राङ्सी गाविसलाई एउटै अर्थात् वडा नम्बर १४ बनाइएकामा भौगोलिक रूपमा ठुलो र दुर्गम भएकोले प्रशासनिक सेवाका लागि समस्या भएको वडावासीको भनाई छ ।
१४ नम्बर वडा जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो भएकोले विशेष गरी नाखा, काफलधारा, गोठबाङ, जामाबगर, देउखोला टोललाई वडा कार्यालय राङ्सी पुगी काम गर्न भौगोलिक विकटता तथा दुरीको कारण निकै समस्या र सास्ती भइरहेको वडावासीको भनाई छ ।
वडावासीले प्रशासनिक सेवाका लागि भोग्दै आएको समस्या सहित वडा विभाजनको माग गरिएको हो । देउखोला देखि वडा कार्यालय राङ्सी पुग्न करिब ६÷७ घण्टा पैदल हिँड्नु पर्ने बाध्यता रहेको, गोठबाङ देखि वडा कार्यालय राङ्सी पुग्न ५ घण्टा हिँड्नु पर्ने र जामाबगर देखि वडा कार्यालय राङ्सी पुग्न ३÷४ घण्टा हिँड्नु पर्ने बाध्यता रहेको वडावासीले उल्लेख गरेका छन् ।
त्यस्तै वडाको नाखा देखि वडा कार्यालय राङ्सी पुग्न डेड घण्टा हिँड्नु पने, काफलधारा देखि वडा कार्यालय राङ्सी पुग्न १ घण्टा १५ मिनेट हिँड्नु पर्ने भएकोले सामान्य मान्छेका लागि नै असहज रहेको अवस्थामा असक्त, असहाय, अपाङ्ग, ज्येष्ठ नागरिकहरूको झन् दर्दनाक अवस्था रहेको वडावासीले पालिकामा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
यी समस्याहरूलाई मध्यनजर गरेर नाखा, गोठबाङ, काफलधारा, पाखापानी, जामाबगर, देउखोला टोललाई समेति एउटा वडा र राङ्सी पानीचौर, पुवाङ टोललाई समेटी एउटा वडा बनाउन वडावासीको माग छ ।
हालको १४ नम्बर वडालाई दुई वटा वडामा विभाजन गराउन अति आवश्यक भएकोले सो को लागि जिल्ला समन्वय समिति मार्फत लुम्बिनी प्रदेश सरकार र सङ्घ सरकारलाई सिफारिस गरी माथिल्लो निकायमा पनि पहल गरिदिन वडावासीले गाउँपालिकालाई अनुरोध गरेका छन् ।
जिल्लाको दुर्गममा पर्ने यस गाउँपालिकाका वासीलाई वडा तथा गाउँपालिकाको प्रशासनिक सेवा लिनका लागि सास्ती भोग्नुपर्ने बाध्यता छ । सडक सञ्जालको सहज पहुँच नभएकोले प्रशासनिक सेवाका लागि घण्टौँ तथा केही दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । वडावासीले साेमबार गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका हुन् ।





-1759842583.jpg)