Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एक वर्षमा २२ हजार मेट्रिक टन दूध उत्पादन, कृषकले साढे १८ लाख अनुदान पाए

रुकुम पश्चिमका कृषकहरूले दूधमा साढे १८ लाख अनुदान पाएका छन् । बितेको आर्थिक वर्ष २०८२÷०८३ मा जिल्ला भरका कृषकहरूले दूधमा १८ लाख ३० हजार अनुदान पाएका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार दुई सय ७८ जना दूध उत्पादक कृषकहरूले प्रति लिटर पाँच रुपैयाँका दरले तीन सय ६६ मेट्रिक टन दूध बिक्रीबाट उक्त अनुदान प्राप्त गरेका हुन् । कर्णाली प्रदेश सरकारले दूध उत्पादक कृषकहरूलाई प्रोत्साहनका लागि हरेक वर्ष दूधमा प्रति लिटर पाँच रुपैयाँ अनुदानको व्यवस्था गरेको छ ।

यो विवरण औपचारिक रूपमा डेरी तथा दुग्ध सङ्कलन केन्द्रमा कृषकहरूले दूध बिक्री गर्दाको विवरण हो । कृषकले घरबाटै अनौपचारिक रूपमा बिक्री गरेको दूधमा भने अनुदान पाउने प्रावधान नरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर अभिनभ जिसीले जानकारी दिनुभयो ।

जिल्लाभरको दूध उत्पादनको तथ्याङ्क हेर्ने हो ठुलो मात्राको दूध कृषकले अनौपचारिक रूपमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । बितेको वर्ष जिल्लामा कुल २२ हजार आठ सय ७६ मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्लामा उत्पादन हुने दूध मध्ये निकै कम मात्र दूध अनुदानको दायरामा आएको पाइएको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को तथ्याङ्क हेर्ने हो भने जिल्लामा चार हजार आठ सय २८ दुधालु गाई र १२ हजार चार सय २९ वटा दुधालु भैँसी रहेकोमा कुल दूध उत्पादन २२ हजार आठ ७६ मेट्रिक टन भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख डाक्टर जिसीले जानकारी गराउनुभयो ।

यो तथ्यलाई हेर्दा जिल्लाभरका दुग्ध उत्पादक कृषकहरूले औपचारिक तवरले डेरी तथा सङ्कलन केन्द्र भन्दा अनौपचारिक रूपमै गाउँघरमा बिक्री वितरणलाई प्राथमिकता दिने गरेको पुष्टि हुने उहाँले बताउनुभयो ।

साथै उहाँले दूधमा दिइएको प्रोत्साहनमुखी कार्यक्रमले राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले तय गरेको लक्ष्य अनुरूप दुग्ध उत्पादक कृषकहरूलाई औपचारिक दुग्ध तथा प्रशोधन केन्द्रहरूमार्फत दूध बिक्री वितरण गर्न समेत प्रोत्साहित गर्ने उहाँको भनाई छ ।

त्यस्तै पछिल्लो समय क्रमिक रूपमा गाई भैँसी पालन प्रति रुचि घट्दै गएको अवस्थामा यस्ता किसिमका कार्यक्रमले पेसामा आबद्ध हुन तथा उत्पादन बढाउन उत्साहित गराएको समेत उहाँले बताउनुभयो । जिल्लामा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुनुका साथै सल्यान, रुकुम पूर्व समेत निकासी हुने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update