Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोटमा ग्यास सिलिन्डर बोकेको मिनीट्रक खोलामा पल्टियो, चालकसहित तीन जनाको सकुशल उद्धार

३ सय बढी ग्यास सिलिन्डर लिएर डोल्पा जाँदै गरेको ट्रक आठबिसकोटमा दुर्घटना 

नेपालगन्जबाट खाना पकाउने एल पी ग्यास सिलिन्डर बोकेर डोल्पा जाँदै गरेको ट्रक रुकुम पश्चिममा दुर्घटनामा परेको छ । ३ सय बढी सिलिन्डर बोकेर गइरहेको लु.प्र.०३–००१ क.००४१ नम्बरको ट्रक आठबिसकोट नगरपालिका वडा नम्बर ६ को रिजागाड खोलामा पल्टिएको हो । 

बाँकेको बैजनाथ गाउँपालिका ३ का २५ वर्षीय चालक टेकबहादुर बुढाले चलाएको उक्त ट्रक टायर लिग भन्दा बाहिर जाँदा चालकको साइड तर्फको खोलामा पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

दुर्घटनामा कुनै मानवीय क्षति नभएको उहाँले बताउनुभयो । दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरी टोलीले चालकसहित तीन जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

७, ८ वटा सिलिन्डर भने खोलाले बगाएको उहाँको भनाई छ । ट्रकमा ३ सय बढी सिलिन्डर रहेको बुझिएको डिएसपी पौडेलले बताउनुभयो । दुर्घटनापछि खोलामा पल्टिएको मिनी ट्रक र त्यसमा रहेका ग्यास सिलिन्डरलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update