Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा हवाइ फायर गरेर तीन किलो अफिम सहित २ जना पक्राउ

रुकुम पश्चिममा हवाई फायर गरेर करिब तीन किलो अफिम सहित २ जनालाइ पक्राउ गरिएको छ । जिल्लाको आठविसकोट नगरपालिका–०४ छोटेबगरमा करिब तीन किलोग्राम अफिम सहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । लागु औषध नियन्त्रण ब्युरो कर्णाली र जिल्ला प्रहरी कार्यालबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–३ स्यालाखदीका २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्यालाका २० वर्षीय गणेश ओली रहेका छन् । उनीहरु दुर्व जना सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी चेकजाँच गर्दा अफिम फेला परेको प्रहरीले जनाएको छ । 

चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश ओलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । 

प्रहरीका अनुसार करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update