रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ बारिपोलेमा रहेको साइकुमारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत रेन्जर दिवस (जुलाई ३१) को अवसर पारी मन्दिर परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालयको आयोजनामा मन्दिर परिसरमा धार्मिक तथा सौन्दर्यमूलक प्रजातिका बिरुवाहरू रोपिएको छ । वर पिपल, कपूर, वीरेन्द्र फुल, कल्की, मयूर पङ्खी, गुलमोहर, छतिवन गरी ८ प्रजातिका २९ वटा धार्मिक तथा सौन्दर्यमूलक बिरुवाहरू रोपिएको वन अधिकृत अनिशा पराजुलीले जानकारी गराउनुभयो ।
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यता तथा वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, उद्योग वाणिज्य सङ्घका सचिव रमेश खड्का, डिभिजन वन कार्यालयका वन अधिकृत खडकलाल नेपाली, वन अधिकृत अनिशा पराजुली लगायत वन कर्मचारीहरू र स्थानीयको उपस्थितिमा वृक्षारोपण गरिएको हाे ।
जिल्लामा असार १४ गतेबाट सगरमाथा वृक्षारोपण महाअभियान सुरु भएको हो । यो अभियान श्रावण मसान्तसम्म चल्ने डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान अन्तर्गत १५ हजार बिरुवा रोप्ने लक्ष राखिएको छ ।
अहिलेसम्म विभिन्न १५, २० ठाउँमा गरेर १० हजार विभिन्न प्रजातिका बिरुवा रोपिसकेको उहाँको भनाई छ । वन क्षेत्र, नदी उकास क्षेत्र, विद्यालय, मठ मन्दिर, पार्क लगायतका सार्वजनिक स्थानमा वृक्षारोपण भइरहेको छ । वन क्षेत्रमा काष्ठ तथा गैर काष्ठ र सार्वजनिक स्थानहरूमा सौन्दर्यमूलक र धार्मिक प्रजातिका बिरुवा रोपिरहेको डिभिजनल वन अधिकृत श्रेष्ठको भनाई छ ।





-1759842583.jpg)