Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रहरीको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ, लागूऔषधदेखि प्राकृतिक स्रोत संरक्षणसम्म प्रभावकारी कार्य

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी वर्षभरी गरेका उपलब्धिहरु सार्वजजिक गरेको हो ।  अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, महिला तथा बालबालिका संरक्षण, प्राकृतिक स्रोतको संरक्षण र समुदाय–प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक देवबहादुर पौडेलले बताउनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षभर २२३ वटा अपराधका मुुद्धा दर्ता भएका छन् ।  तीमध्ये ४१ वटा जघन्य तथा गम्भीर अपराध, २३ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध, ३३ वटा आर्थिक अपराध र १४९ वटा अन्य अपराध रहेका छन् । यस अवधिमा चालु मुद्दाका १३३ जना प्रतिवादी पक्राउ परेका छन् भने ४ वटा सार्वजनिक चासोका पेन्डिङ मुद्दा सफलतापूर्वक अनुसन्धान सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

फैसला कार्यान्वयनतर्फ ७८ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । उनीहरूबाट ६२ वर्ष ८ महिना ४ दिन कैद सजाय कार्यान्वयन गराइएको छ भने १ लाख ६० हजार ४५० रुपैयाँ १६ पैसा जरिवाना असुल गरिएको छ । लागूऔषध नियन्त्रणतर्फ ८ वटा मुद्दा दर्ता गरी १७ जना पक्राउ गरिएको छ । यस क्रममा अफिम १० केजी १६० ग्राम, ब्राउन सुगर १३.६० ग्राम, चरेस/गाँजा २९.८४ ग्राम तथा ट्रामाडोल २१० ट्याब्लेट बरामद गरिएको छ । साथै चालु आर्थिक वर्षको सुरुवातमै ३.१७ किलोग्राम अफिमसहित २ जना पक्राउ परेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत हराएका १३९ जनामध्ये १३६ जना फेला, ३ जना खोजीमाको  अभिलेख राखिएको छ ।

घरेलु हिंसासम्बन्धी ५९ उजुरी मध्ये ४६ वटा मिलापत्र, ५ वटा अदालतमा र ८ वटा स्थानीय तहमा पठाइएको छ । ठाडो उजुरी १७८ वटा प्राप्त भएका सबै फछ्र्योट गरिएको प्रहरीले जनाएको छ । प्राकृतिक सम्पदा संरक्षणअन्तर्गत नदीजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रणमा ६ टिपर र ११ ट्र्याक्टर नियन्त्रणमा लिई रु. १ लाख २१ हजार जरिवाना गरिएको तथा १७ जना पक्राउ परेका छन् ।  यस्तै अवैध वन पैदावार चोरी–पैठारी नियन्त्रणका क्रममा २७७.२५ क्यु फिट काठ बरामद गरिएको छ, जसको अनुमानित मूल्य रु. २ लाख ७९ हजार ४८ रुपैयाँ रहेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५३६ वटा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको, जसमा १५,२२१ जना सहभागी भएका छन् । ९९ वटा विद्यालय लक्षित कार्यक्रम मार्फत ६ हजार ६१३ जना विद्यार्थी लाभान्वित भएका छन् ।  त्यसैगरी ४ वटा सार्वजनिक÷नागरिक सुनुवाइ कार्यक्रम मा ३२५ जना सहभागी भएका छन् भने सीमान्तकृत, अल्पसंख्यक र पिछडिएका वर्ग लक्षित १५ वटा कार्यक्रम सञ्चालन गरी ३३१ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय रुकुमले सर्वजनिक गरेको प्रगति विरणमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update