सिम्रतु क्याम्पस त्रिवेणी गाउँपालिका २ मा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमको आयोजनामा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो । जिल्लामा सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत वृक्षारोपण भइरहेको छ ।
सोही महाअभियान अन्तर्गत आइतबार क्याम्पस परिसरमा विभिन्न प्रजातिका सौन्दर्यमूलक बिरुवाहरू रोपिएको डिभिजन वन कार्यालयका वन अधिकृत अनिशा पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार कल्की, गुलमोहर, कपूर, मयूर पङ्खी र वीरेन्द्र फुलका ३५ वटा बिरुवा रापिएको हो ।
डिभिजन वन कार्यालयका कर्मचारी, क्याम्पस प्रशासन, प्राध्यापक तथा कर्मचारी, स्थानीय लगायतको उपस्थितिमा बिरुवा रोपिएको उहाँले बताउनुभयो ।
जिल्लामा असार १४ गतेबाट सगरमाथा वृक्षारोपण महाअभियान सुरु भएको हो । यो अभियान श्रावण मसान्तसम्म चल्ने डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । महाअभियान अन्तर्गत जिल्लामा १५ हजार बिरुवा रोप्ने लक्ष राखिएको छ ।
अहिलेसम्म १० हजार बढी विभिन्न प्रजातिका बिरुवा रोपिसकिएको कार्यालयले जनाएको छ । वन क्षेत्र, नदी उकास क्षेत्र, विद्यालय, मठ मन्दिर, पार्क लगायतका सार्वजनिक स्थानमा वृक्षारोपण भइरहेको छ ।
वन क्षेत्रमा काष्ठ तथा गैर काष्ठ र सार्वजनिक स्थानहरूमा सौन्दर्यमूलक र धार्मिक प्रजातिका बिरुवा रोपिरहेको वन अधिकृत पराजुलीले जानकारी गराउनुभयो ।





-1759842583.jpg)