रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ छिवाङ स्थित मध्यपहाडी लोकमार्गमा जिपले ठक्कर दिँदा २ जना घाइते भएका छन् । सोमबार बिहान ८ः४० बजेको समयमा आठबिसकोट नगरपालिकाबाट मुसिकोट तर्फ आइरहेको रा १ ज ८३१ नम्बरको जिप अनियन्त्रित हुँदा बाटोमा हिँडिरहेका बाजे नातिनी घाइते भएका हुन् ।
घाइते हुनेमा मुसिकोट नगरपालिका १३ छिवाङ का ७२ वर्षीय बमबहादुर खड्का र उहाँकी नातिनी ५ बर्सिया आकांक्षा ओली घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
घाइते बमबहादुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ भने अवस्था अवस्था मध्यम रहेको र नातिनी आकांक्षाको बायाँ खुट्टामा चोट लागेकामा अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
जिप अनियन्त्रित भई तरकारी बेच्न जाँदै गरेका बमबहादुर र उहाँसँगै गएकी नातिनीलाई ठक्कर दिएको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो । जिप सडक देखि अन्दाजी १० मिटर मकै बारीमा खसेको छ ।
उक्त जिपमा चालक सहित ५ जना सवार रहेकोमा ४ जना सवारलाई केही नभएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको बताइएको छ । चालकको पहिचान समेत खुल्ने सकेको छैन ।
गाडी साहु भने आठबिसकोट नगरपालिका ९ की धनसरी चदारा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा प्रहरी सहायक निरीक्षक दिलबहादुर थारुको कमान्डमा ३ जनाको प्रहरी टोली खटिएको छ ।





-1759842583.jpg)