बाँकेको नेपालगन्जबाट लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको बाह्रपंखीबाट खरिद गरी ल्याई कर्णाली प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरूमा बिक्री गर्दै आएका पटके कारोबारी नेपालगन्ज उपमहानगर पालिका ४ का ३० वर्षीय सुशील भण्डारी र वडा नम्बर १० का ५५ वर्षीय अरुणकुमार जयसवाल पक्राउ परेका हुन् ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले सोमबार बाँकेको नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ४ बाट पक्राउ गरेको हो । उनीहरूलाई समग्रमा पाँच सय ७८ ग्राम नौ सय ५० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
सुरुमा उनीहरूलाई समात्दा उनीहरूको साथबाट एक सय ५३ ग्राम नौ ५० मिलिग्राम हिरोइन फेला परेको थियो भने थप अनुसन्धानको सिलसिलामा अरुण कुमार जयसवालको घर खानतलासी गर्दा घरको कोठामा रहेको दराजभित्र सञ्चय गरी राखेको चार सय २५ ग्राम समेत फेला पारी बरामद गरिएको छ भने थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।
उनीहरूको साथबाट खैरो हिरोइन सहित नेपाली रुपैयाँ एक लाख ८० हजार र भारतीय रुपैयाँ दुई लाख १४ हजार, डिजिटल तराजु थान १ र मोबाइल २ थान बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले जनाएको छ । ब्युरोले ठुलो परिमाणमा लागू औषध सहित यसका कारोबारीहरूलाई पक्राउ गरिरहेको छ ।





-1759842583.jpg)