Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा कैदीबन्दी ओसारपसारका लागि  सुविधा सम्पन्न नयाँ सवारी थप

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कैदी बन्दीको सुरक्षित ओसारपसारका लागि सुविधा सम्पन्न नयाँ प्रहरी सवारीसाधन ल्याइएको छ । केही दिन अगाडी नयाँ सुविधा सम्पन्न नयाँ सवारी साधन ल्याएको हो ।  प्रहरी कार्यालयमा भित्रिएको नयाँ गाडीमा अगाडि र पछाडितर्फ सिसी क्यामेरा जडान गरिएको छ ।

यसका साथै गाडीका सिसामा सुरक्षालाई मध्यनजर गर्दै बलियो फलामको जाली राखिएको छ, जसले कैदी बन्दीको सुरक्षित व्यवस्थापन तथा प्रहरीको सुरक्षा थप मजबुत बनाउने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

गाडी विशेष रूपमा कैदी बन्दी ओसारपसारका लागि डिजाइन गरिएको छ । गाडीमा प्रहरीको आपत्कालीन बत्ती (लाइट बार), सुरक्षा जाली तथा निगरानी प्रणाली जडान गरिएकाले कैदी बन्दीलाई एक स्थानबाट अर्को स्थानमा लैजाँदा निगरानी र सुरक्षा व्यवस्था थप प्रभावकारी  हुने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ सवारी सञ्चालनमा आएपछि कैदी बन्दी ढुवानी कार्य थप व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने छ । नयाँ प्रविधिसहितको यो सवारीले प्रहरीको सेवा प्रवाह तथा सुरक्षा व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update