Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अपराध बढ्दो क्रममा

रुकुम पश्चिममा अपराध बढ्दो क्रममा देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा आपराधिक घटना बढ्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०८०/०८१ देखि बितेको आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा मुद्दाको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बितेको आर्थिक वर्ष ०८२/०८३ मा कुल दुई सय २३ वटा अपराध दर्ता भएका छन् । जसमध्ये एक सय २० वटा मुद्दा फर्स्यौट भएका छन् भने एक सय तीन वटा बाँकी रहेका छन् । त्यो भन्दा अघिल्लो वर्ष २०८१/०८२ मा दुई सय वटा अपराध दर्ता भएका थिए । 

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा अपराधको सङ्ख्या एक सय ६० रहेको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जिल्लामा तीन वर्षको आँकडा हेर्दा अपराधको ग्राफ बढ्दो क्रममा रहेको बताउनुभयो । तीनै वर्षको तथ्याङ्क हेर्दा सबैभन्दा बढी सामान्य सामाजिक अपराध जस्तै अभद्र व्यवहार, राष्ट्रसेवकलाई कर्तव्य पूरा गर्न बाधा गरेको र जुवा तास जस्ता रहेको उहाँले बताउनुभयो । 

यस्ता अपराध बितेको आर्थिक वर्षमा एक सय ४९ वटा दर्ता भएका छन् । यसपछि जघन्य तथा गम्भीर अपराध रहेका छन् । बितेको वर्ष ४१ वटा यस्ता अपराध रेकर्ड भएकामा त्यो भन्दा अघिल्लो वर्ष ७१ र त्यसभन्दा अघिल्लो वर्ष ४७ वटा अपराधका मुद्दा दर्ता भएको डिएसपी पौडेलले जानकारी गराउनुभयो ।

जिल्लामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र आर्थिक अपराधका घटनाहरू पनि उल्लेख्य रहेका छन् । बितेको वर्ष आर्थिक अपराधका ३३ वटा र महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका २३ वटा घटना दर्ता भएका छन् । 

यसअघिका वर्षहरूको तुलनामा बितेको आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधमा भने उल्लेख कमी आएको देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ९४ वटा यस्ता अपराध दर्ता भएकामा त्यो भन्दा अघिल्लो वर्ष २०८०/०८१ मा ७२ वटा घटना दर्ता भएका थिए । 

अपराध न्यूनीकरणका लागि प्रहरी लागि परेको तर आपराधिक घटना भने बढ्दो क्रममा देखिएको डिएसपी पौडेलले बताउनुभयो । यसमा विशेष गरी समाजको मनोविज्ञान जोडिएको उहाँको भनाई छ । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालको दुरुपयोग, मानसिक समस्या लगायतका कारणले मुख्य रूपमा अपराध बढाउन काम गरिरहेको उहाँको भनाई छ । 

सानो समस्यामा पनि मान्छेले होस गुमाउँदा समाजमा ठुला आपराधिक घटनाहरू भइरहेको उहाँले बताउनुभयो । यसका लागि प्रहरीले सचेतनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । प्रहरीले अपराध भएपछि घटनाको अनुसन्धान, दोषीलाई कानुनी कारबाहीको कठघरामा उभ्याउने देखि अपराध नै नहोस् भन्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update