डिभिजन वन कार्यालय रुकुम पश्चिमको आयोजनामा बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ । कार्यालयले सञ्चालन गरिरहेको सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत तीन वटा विद्यालय र एउटा वडा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को कार्यालय परिसर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँफिकोट–७, ढारवाङ, हिमालय नमुना आधारभूत विद्यालय, बाँफिकोट–७, गोरेकाँडा र जनविकास आधारभूत विद्यालय, बाँफिकोट–३, भाग्लेमा विभिन्न प्रजातिका बिरुवा रोपिएको वन अधिकृत सारा परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा कार्यालयमा २० वटा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १५ वटा, हिमालय नमुना आधारभूत विद्यालयमा १५ र जनविकास आधारभूत विद्यालयमा १० वटा विभिन्न प्रजातिका सौन्दर्यमूलक बिरुवाहरू रोपिएको हो ।
सबै ठाउँमा कपुर, शिरिष, मयुरपंखी र कल्की प्रजातिका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत सारा परियार, वन अधिकृत कविता घले लगायत बाँफिकोट सब डिभिजन वन कार्यालयका कर्मचारीहरू र वडाका जनप्रतिनिधि, कर्मचारी तथा विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
जिल्लामा असार १४ गतेबाट सगरमाथा वृक्षारोपण महाअभियान सुरु भएको हो । यो अभियान श्रावण मसान्तसम्म चल्ने डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । महाअभियान अन्तर्गत जिल्लामा १५ हजार बिरुवा रोप्ने लक्ष राखिएको छ ।
अहिलेसम्म १० हजार बढी विभिन्न प्रजातिका बिरुवा रोपिसकिएको कार्यालयले जनाएको छ । वन क्षेत्र, नदी उकास क्षेत्र, विद्यालय, मठ मन्दिर, पार्क लगायतका सार्वजनिक स्थानमा वृक्षारोपण भइरहेको छ ।
वन क्षेत्रमा काष्ठ तथा गैर काष्ठ र सार्वजनिक स्थानहरूमा सौन्दर्यमूलक र धार्मिक प्रजातिका बिरुवा रोपिरहेको वन अधिकृत अनिशा पराजुलीले जानकारी गराउनुभयो ।





-1759842583.jpg)