इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको रुकुम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुकुम पश्चिमका ४५ जना विपन्न विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ । मुसिकोट नगरपालिका–१२ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जमारुमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीस्वरूप विद्यालय झोला वितरण गरिएको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा शाखा प्रमुख अभरणकुमार यादवले विद्यार्थीलाई झोला हस्तान्तरण गर्दै आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस सहयोगले विद्यार्थीको दैनिक पठनपाठनलाई सहज बनाउने विश्वास व्यक्त गर्दै बालबालिकाको शिक्षामा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। उहाँले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा शाखाका कर्मचारी ओमकार सुनार, मुसिकोट नगरपालिका–१२ का वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। विद्यालय प्रशासन, वडा कार्यालय तथा अभिभावकहरूले ग्रामीण क्षेत्रका विपन्न बालबालिकाको शिक्षामा सहयोग पुगेको भन्दै लगानी तथा वित्त कम्पनी लिमिटेडप्रति आभार व्यक्त गरेका छन् ।
उनीहरूले यस्ता सहयोगले विद्यार्थीलाई नियमित विद्यालय जान थप हौसला मिल्ने विश्वास व्यक्त गरेका छन्।





-1759842583.jpg)