Kakhara सबैको खबर सम्पूर्ण खबर
अफिम फडानीमा रुकुम पश्चिम प्रहरी आक्रामक, तीन वर्षमा झन्डै ११ सय रोपनीको अफिम खेती नष्ट
फाइल फाेटाे ।

रुकुम पश्चिम प्रहरी अवैध लागू औषध अफिम फडानीमा आक्रामक बनेको छ । हरेक वर्ष प्रहरीले ठुलो क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गर्ने गरेको छ । पछिल्ला तीन वर्षमा मात्र प्रहरीले १ हजार ९३ रोपनी क्षेत्रफलमा गरिएको अफिम खेती नष्ट गरेको छ । 

हरेक वर्ष मात्रा पनि बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा दुई सय ४० रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको रुकुम पश्चिम प्रहरीले बितेको आर्थिक वर्ष २०८२/०८३ मा पाँच सय ९३ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको छ । 

आर्थिक वर्ष २०८१/०८२ मा भने दुई सय ६० रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । तीन वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा अफिम फडानीमा उल्लेख प्रगति हासिल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

जिल्लामा ठुलो मात्रामा अफिम खेती हुने गरेको र सोही मात्रामा प्रहरीले नष्ट गर्ने अभियान समेत सञ्चालन गरिरहेको उहाँको भनाई छ । विशेष गरी बितेको आर्थिक वर्षमा अफिम फडानीमा सबै भन्दा ठुलो सफलता हात लागेको उहाँले बताउनुभयो । 

विशेष सूचना तथा नियमित गस्ती गरेर जिल्लाका विभिन्न ठाउँमा गरिएको अफिम खेती अभियान नै सञ्चालन गरेर नष्ट गर्ने गरिएको डिएसपी पौडेलले बताउनुभयो । जिल्लामा विशेष गरी अरूको उक्साहटमा लागेर तथा केही मात्रामा जानाजान समेत अफिम खेती गर्ने गरिएको भेटिएको उहाँले बताउनुभयो । 

ठुलो मात्रामा अफिम खेती नष्ट गरिए पनि जिल्लामा हालसम्म खेती गर्ने कसै माथि पनि मुद्दा भने चलाइएको छैन । खेती गर्नेको पहिचान हुन नसक्दा मुद्दा चलाउन नसकिएको डिएसपी पौडेलले बताउनुभयो । बाझो जमिन तथा गाउँभन्दा निकै टाढाको क्षेत्रमा खेती गरिदा कसले लगाएको हो भनेर पत्ता लगाउन मुस्किल भइरहेको उहाँको भनाई छ । 

तर प्रहरीले यसमा विशेष चासो र अनुसन्धान गरिरहेको उहाँको भनाई छ । साथै यससम्बन्धी सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । 

२ वर्षमा २६ केजी अफिम बरामद, लागू औषध कसुरमा ३९ जना पक्राउ 
यसैबिच पछिल्लो दुई वर्षमा प्रहरीले २५.८७३ किलोग्राम अफिम बरामद गरेको छ । यो अवधिमा अफिम सहित विभिन्न लागू औषध कसुरमा ३९ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार बितेको आर्थिक वर्ष २०८२/०८३ मा १० केजी एक सय ६० ग्राम अफिम बरामद गरिएको छ भने त्यो भन्दा अघिल्लो वर्ष २०८१/०८२ मा १५ केजी सात सय १३ ग्राम अफिम बरामद गरिएको थियो । 

जिल्लामा अन्य लागू औषधका कारोबारी समेत पक्राउ परेका छन् । बितेको वर्ष २९ केजी ८४ ग्राम चरेस, १३.०६० ग्राम ब्राउन सुगर र दुई सय १० गोटा ट्याब्लेट बरामद गरिएको छ । त्यो भन्दा अघिल्लो वर्ष ५.५ केजी चरेस, तीन सय ५० मिलिग्राम ब्राउन सुगर र चार हजार नौ सय ४८ गोटा ट्याब्लेट बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराउनुभयो । 

बितेको आर्थिक वर्ष २०८२/०८३ मा १७ जना र आर्थिक वर्ष २०८१/०८२ मा २२ जना गरी दुई वर्षमा ३९ जना लागू औषध कसुरमा पक्राउ परेको उहाँले बताउनुभयो । दुई वर्षमा लागू औषधका १९ वटा मुद्दा दर्ता भएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update