रुकुम पश्चिम प्रहरीले लागू औषध नियन्त्रणमा जोड दिएको छ । जिल्लामा लागू औषधको उत्पादन, प्रयोग तथा बिक्री वितरणमा प्रहरीले कडाइ गरेको हो । प्रहरीले बितेका दुई वर्षमा लागू औषध कसुरका १९ वटा मुद्दा दर्ता गरेको छ । त्यस्तै यो अवधिमा ३९ जनालाई लागू औषध कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो दुई आर्थिक वर्षमा प्रहरीले २५.८७३ किलोग्राम अफिम बरामद गरेको छ । डिएसपी पौडेलका अनुसार बितेको आर्थिक वर्ष २०८२/०८३ मा १० केजी एक सय ६० ग्राम अफिम बरामद गरिएको छ भने त्यो भन्दा अघिल्लो वर्ष २०८२/०८३ मा १५ केजी सात सय १३ ग्राम अफिम बरामद गरिएको थियो ।
जिल्लामा अन्य लागू औषध पनि बरामद गरिएको छ । बितेको वर्ष २९ केजी ८४ ग्राम चरेस, १३.०६० ग्राम ब्राउन सुगर र दुई सय १० गोटा ट्याब्लेट बरामद गरिएको छ । त्यो भन्दा अघिल्लो वर्ष ५.५ केजी चरेस, तीन सय ५० मिलिग्राम ब्राउन सुगर र चार हजार नौ सय ४८ गोटा ट्याब्लेट बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराउनुभयो ।
बितेको आर्थिक वर्ष २०८२/०८३ मा १७ जना र आर्थिक वर्ष २०८१/०८२ मा २२ जना गरी दुई वर्षमा ३९ जना लागू औषध कसुरमा पक्राउ परेको उहाँले बताउनुभयो । दुई वर्षमा लागू औषधका १९ वटा मुद्दा दर्ता भएका छन् ।





-1759842583.jpg)