जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्ष २०८२/०८३ मा पुँजीगततर्फ ९८ दशमलव ५० प्रतिशत खर्च गरेको छ । कार्यालयले पुँजीगत तथा चालुतर्फको बजेट खर्चमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । पुँजीगततर्फ विनियोजित ३३ लाख ४१ हजार रुपैयाँ मध्ये ३२ लाख ९१ हजार एक सय ६१ रुपैयाँ खर्च भएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ९८ दशमलव ५० प्रतिशत वित्तीय प्रगति र शतप्रतिशत भौतिक प्रगति भएको छ ।
त्यस्तै, चालुतर्फ (कार्यालय सञ्चालन) विनियोजित २ करोड ८४ हजार ३८२ रुपैयाँ मध्ये १ करोड ८० लाख १६ हजार ७९६ रुपैयाँ अर्थात् ८९ दशमलव ७१ प्रतिशत खर्च भई वित्तीय प्रगति भएको छ । राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत पुँजीगततर्फ ४६ हजार मध्ये ४५ हजार ७६७ अर्थात् ९९ दशमलव ४८ प्रतिशत वित्तीय प्रगति तथा शत प्रतिशत भौतिक प्रगति भएको छ । त्यसै गरी चालुतर्फ ९ लाख २९ हजार रुपैयाँ हजार मध्ये ८ लाख ९९ हजार ४६२ अर्थात् ९६ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।
कार्यालयले राजस्व सङ्कलनतर्फ पनि सन्तोषजनक उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । न्यायिक दस्तुर, परीक्षा शुल्क, राहदानी शुल्क, अन्य प्रशासनिक शुल्क, हातहतियार इजाजत पत्र दस्तुर, प्रशासनिक दण्ड–जरिवाना, जफत तथा अन्य शीर्षकबाट रु. २ करोड ५८ लाख २८ हजार ३५५ राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)