रुकुम पश्चिम मासुमा आत्मनिर्भर देखिएको छ । विशेष गरी जिल्ला खसी, बोका, राँगा र बंगुरको मासुमा आत्मनिर्भर रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । कार्यालयका अनुसार जिल्लालाई पुगेर पनि खसी, बोका र बंंगुर लगायतका पशु मासुका लागि अन्य जिल्लामा निकासी हुने गरेका छन् ।
बितेको आर्थिक २०८२/०८३ मा वर्ष जिल्लाबाट करिब २० देखि २५ हजार खसी बोका पोखरा, दाङ, काठमाडौँ र दुई सय ५० वटा बंगुर रुकुम पूर्व निकासी भएको तथ्याङ्क रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर अभिनभ जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार खसी, बोका, राँगा तथा बंगुरको मासु जिल्लालाई पुगेर पनि बाहिर गइरहेको भन्दै आयातको अवस्था रहेको छैन ।
कुखुराको भने आयात र निकासी दुवै रहेको उहाँले बताउनुभयो । कुखुरामा पनि जिल्लालाई परनिर्भर भन्न नमिल्ने उहाँको भनाई छ । जिल्लामा विशेष गरी ब्रोइलर कुखुरा दाङबाट आयात गर्ने गरिएको छ । त्यस्तै जिल्लाबाट समेत ठुलो मात्रामा रुकुम पूर्व र डोल्पा लगाएका जिल्लामा कुखुरा निर्यात हुने गरेको प्रमुख जिसीको भनाई छ ।
बितेको वर्ष मात्र जिल्लाबाट ३५-४० हजारको हाराहारीमा कुखुरा निर्यात भएको उहाँको भनाई छ । यसका साथै जिल्लाबाट १ वर्षमा १.५ टन घ्यु जाजरकोट, सल्यान, डोल्पा, सुर्खेत, दाङ, नेपालगन्ज लगायतका जिल्लामा गएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाहिर पठाउँदा पशु डाक्टरबाट स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य रहेकोले यो कानुन सम्मत जिल्ला बाहिर निकासीको विवरण हो ।
पहिलेको तुलनामा हाल निकासी र आयातको यकिन डेटा सङ्कलनमा भने समस्या रहेको उहाँले जानकारी गराउनुभयो । तर समग्रमा जिल्लालाई आवश्यक पर्ने मासु जिल्लामै उत्पादन हुने र जिल्लालाई पुगेर पनि अन्यत्र पठाउने गरिएको उहाँको भनाई छ । जिल्लामा उत्पादन भएकोले नपुगेर अन्डा भने बाहिरी जिल्लाबाट आयात गर्ने गरिएको छ ।।





-1759842583.jpg)