Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट दुग्ध सहकारी अनुदान प्रकरणमा नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कसलाई कति विगो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारीसँग सम्बन्धित अनुदान दुरुपयोग प्रकरणमा आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी.सहित ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज एक सूचना जारी गर्दै  अख्तियारले मुद्दा दायर गरेको जनाएको हो । आयोगका अनुसार, आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकारको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको योजनामा कार्यविधि विपरीत मूल्याङ्कन गरी अनुदानका लागि अयोग्य सहकारी छनोट गरिएको थियो ।

त्यसपछि आठबीसकोट दुग्ध सहकारी संस्थालाई चिस्यान केन्द्र निर्माणका लागि रु. ९१ लाख १७ हजार ८७३ अनुदान उपलब्ध गराइएको थियो । अनुसन्धानका क्रममा सहकारीले डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट समेत लाखौँ रुपैयाँ लिएको तर दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नल्याएको, सरकारी स्रोतबाट प्राप्त गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको तथा चिस्यान केन्द्रसमेत सञ्चालनमा नआएको पाइएको अख्तियारले जनाएको छ ।  यस्तै अनुदान दुरुपयोग भइरहेको अवस्था हुँदाहुँदै पुनः रु. ८० लाख २३ हजार ५१ बराबरको अनुदानमा एक थान मिल्क ट्याङ्कर र दुई वटा शीतल (रेफ्रिजेरेटेड) गाडी उपलब्ध गराइएको तर ती सामग्रीसमेत प्रयोगविहीन अवस्थामा राखिएको आयोगको आरोप छ ।  

यस प्रकरणमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका कर्मचारी, आठबीसकोट नगरपालिकाका पदाधिकारी तथा कर्मचारी र आठबीसकोट दुग्ध सहकारी संस्थासँग सम्बन्धित व्यक्तिहरूले गैर कानुनी लाभ पुर्‍याई नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा आठबीसकोट नगरपालिकालाई हानि–नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय र बिगो असुलउपरको माग दाबी गरेको छ । 

आरोप, पद, बिगो रकम र कसुर:
१, रवि केसी. – नगरप्रमुख, आठबीसकोट नगरपालिका
बिगो: रु. ८०,२३,०५१
कसुर: गाडी खरिदसम्बन्धी अनुदानमा भ्रष्टाचार तथा गैर कानुनी लाभ पुर्‍याएको आरोप ।

२, सुवर्णसिंह ठकुरी– तत्कालीन पशु विकास अधिकृत, पशु अस्पताल तथा पशु सेवा कार्यालय, रुकुम पश्चिम
बिगो: रु. ९१,१७,८७३
कसुर: चिस्यान केन्द्र निर्माण अनुदानमा कार्यविधि विपरीत मूल्याङ्कन र प्रतिवेदन पेस गरी अनियमितता गरेको आरोप ।

३, ज्ञानुकुमार शर्मा – तत्कालीन निमित्त कार्यालय प्रमुख, पशु अस्पताल तथा पशु सेवा कार्यालय, रुकुम पश्चिम
बिगो: रु. ९१,१७,८७३
कसुर: अनियमित अनुदान स्वीकृति तथा गैर कानुनी लाभ पुर्‍याएको आरोप ।

४, शेरबहादुर खड्का – पशु सेवा अधिकृत, पशु अस्पताल तथा पशु सेवा कार्यालय, रुकुम पश्चिम
बिगो: रु. ९१,१७,८७३
कसुर: अनुदान वितरण प्रक्रियामा अनियमितता गरेको आरोप ।

५, यमबहादुर पुन – लेखा अधिकृत, पशु अस्पताल तथा पशु सेवा कार्यालय, रुकुम पश्चिम
बिगो: रु. ९१,१७,८७३
कसुर: अनियमित भुक्तानी प्रक्रियामा संलग्न भएको आरोप।

६, मीनबहादुर केसी. – कृषि अधिकृत, कृषि विकास कार्यालय, रुकुम पश्चिम
बिगो: रु. ९१,१७,८७३
कसुर: कार्यविधि विपरीत अनुदान प्रक्रियामा संलग्न भएको आरोप ।

७, मणिराज शाह – प्रमुख प्रशासकीय अधिकृत, आठबीसकोट नगरपालिका
बिगो: रु. ८०,२३,०५१
कसुर: गाडी खरिदसम्बन्धी अनुदानमा गैर कानुनी लाभ पुर्‍याएको आरोप ।

८, जनक बटाला – अध्यक्ष, आठबीसकोट दुग्ध सहकारी संस्था लि.
बिगो: रु. ९१,१७,८७३ र रु. ८०,२३,०५१
कसुर: अनुदान दुरुपयोग, सरकारी सम्पत्ति प्रयोगविहीन बनाएको तथा गैर कानुनी लाभ लिएको आरोप।

९, वीरबहादुर रोकाय – उपाध्यक्ष, आठबीसकोट दुग्ध सहकारी संस्था लि.
बिगो: रु. ९१,१७,८७३ र रु. ८०,२३,०५१
कसुर: अनुदान दुरुपयोगमा संलग्न रहेको आरोप ।

१०, गोविन्दप्रकाश खड्का – सचिव, आठबीसकोट दुग्ध सहकारी संस्था लि.
बिगो: रु. ९१,१७,८७३ र रु. ८०,२३,०५१
कसुर: अनुदान दुरुपयोगमा संलग्न रहेको आरोप ।

११. जुन कुमारी चनेल-सचिव, आठबीसकोट दुग्ध सहकारी संस्था लि.
बिगो: रु. ९१,१७,८७३ र रु. ८०,२३,०५१
कसुर: अनुदान दुरुपयोगमा संलग्न रहेको आरोप ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update