Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ८ मा  थुनुवा कैदी बाेकेकाे भ्यान र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, एकको अवस्था गम्भीर
मृतक बोहरा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ ताँवलेमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । मध्य पहाडी लोक मार्गअन्तर्गत ताँवले क्षेत्रमा कारागार कार्यालय रुकुम पश्चिमको बा.प्र.–०३००१ च ३९५६ नम्बरको थुनुवा कैदी बाेकेकाे भ्यान र क.प्र.–०३००१ प ०७६९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा आठविसकोट नगरपालिका–७ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको  प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार आठविसकोट नगरपालिका–१० का २० वर्षिय गणेश शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका  सूचना अधिकारी प्रहरी निरीक्षक  झबिन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते शाहीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पुर्‍याइएको थियो । अस्पतालमा प्रारम्भिक उपचारपछि  अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।

भ्यान रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतबाट थुनुवा कैदी लिएर रुकुम पश्चिमतर्फ आउँदै थियो भने मोटरसाइकल रुकुम पूर्वतर्फ जाँदै गरेको अवस्थामा ताँवलेमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update