Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेटमा एक महिना देखि ग्यासको लाइन उस्तै

देशभरमा ग्यासको अभाव देखिएको छ । नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिन्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन् । तर डिलर तथा उद्योगमा समेत घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ ।

सरकारले नियमित आपूर्ति भइरहेको दाबी गरे पनि झन्डै १ हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन् । यता रुकुम पश्चिममा भने विगत १ महिना भन्दा लामो समयय देखि ग्यासको अभाव छ । जिल्लामा हालसम्म पनि ग्यासको सहज आपुर्ति र वितरण हुन सकिरहेको छैन् । 

विशेषगरी जिल्ला सदरमुकाम मुसिकोटमा ग्यासको अभाव चर्को छ । जनघनत्व बढी भएका कारण जिल्ला सदरमुकाममा आवश्यकता अनुसार ग्यास आपुर्ति नहुँदा उपभोक्ताहरु कयौँ दिनसम्म ग्यासका लागि डिलरमा धाउन बाध्य छन् । केही दिन अघि नै पैसा बुझाउनुपर्ने र त्यही पनि सहज रुपमा ग्यास पाउने अवस्था नरहेको उपभोक्ताहरुको गुनासो छ । 

1000201882-1786074204.jpg
ग्यास आउने सूचना पाएपछि उपभोक्ताहरु दिनभर तथा राति अबेरसम्म पनि लाइनमा बस्नुपर्ने बाध्यता छ । ग्यासका लागि उपभोक्ताहरु बिचमा तछाडमछाडको अवस्था छ । माथिबाटै डिलरले ग्यास पठाउन नसकेकोले सहज आपूर्ति हुन नसकेको ग्यास बिक्रेताहरुको भनाई छ । 

जिल्ला सदरमुकाममा भेरी र राप्तीको आधिकारिक बिक्रेता रहेका छन् । दुवै डिलरले ग्यास आइरहेको भएपनि उपभोक्ताहरुको लाइन नहटेको बताएका छन् । ग्यास हप्ता हप्तामा आइरहेको भएपनि उपभोक्ताहरुको लाइन भने कम हुन नसकेको डिलरहरुको भनाई छ । जसका कारण उपभोक्ताहरुले ग्यासको सञ्चय गरिरहेको आशंका समेत गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताहरुलाई आवश्यकता भन्दा बढी ग्यास नलिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जिल्लामा साबिकको तुलनामा केही कम ग्यास आपुर्ति भइरहेकोले समस्या भइरहेको र यसलाई हल गर्न प्रशासनले निरन्तर ताकेता गरिरहेको बताउनुभयो । 

1000201883-1786074202.jpg
जिल्लामा आएको ग्यास वितरण भइरहेको भएपनि माथिबाटै कम ग्यास आएको र केही ग्यास जिल्ला बाहिरबाट वितरण हुँदै आइरहेकोले जिल्लामा ग्यासको समस्या देखिएकोले त्यस्तो कार्य तत्काल रोक्न बिक्रेतालाई निर्देशन गरिसकेको उहाँको भनाई छ । साथै जिल्लामा हुनसक्ने कालोबजारी तथा मूल्यवृद्धिलाई रोक्न प्रशासन चनाखो भएर लागेको समेत उहाँले बताउनुभयो । 

सुरुमा आधा सिलिन्डर ग्यासका कारण पनि अहिलेको समस्या आएको भन्दैै अब विस्तारै ग्यासको अभाव सामान्य बन्दै जाने उहाँको विश्वास छ । त्यस्तै जिल्लामा मनकामनाको ग्यास लामो समयसम्म पनि आएको छैन् । जसका कारण मनकामनाका उपभोक्ताहरुले सिलिन्डर साट्न पाएका छैनन् । यसतर्फ पनि प्रशासनले निरन्तर ताकेता गरिरहेको सिडिओ गौतमको भनाई छ । 

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्तिसम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

1000201884-1786074202.jpg
मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगेको भए ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् । जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिन्डर ग्यास बिक्री गरेको थियो । अहिले फेरि भरी अर्थात् १४.२ किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update