रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले भूकम्पपीडित ३०२ लाभग्राहीलाई पहिलो किस्ताको अनुदान सिफारिस गर्ने निर्णय गरेको छ । २०८० साल कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई पहिलो किस्ताको अनुदान सिफारिस गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष तथा समितिका संयोजक गणेशकुमार केसीको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनका समग्र गतिविधिको समीक्षा गर्दै राहत, उद्धार, पूर्वतयारी, प्रतिकार्य तथा उपलब्ध स्रोत–साधनको अवस्थाबारे छलफल गरेको थियो ।
बैठकले देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा विपद् व्यवस्थापनका कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र समन्वयात्मक ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यविधिअनुसार विस्तृत क्षेती आंकलन (डिडिए) सम्पन्न भएका र क्षतिको स्तर प्रमाणित भएका ३०२ लाभग्राहीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । यसका लागि वडा कार्यालय, प्राविधिक कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन शाखाबीच आवश्यक समन्वय गरी वास्तविक लाभग्राहीको पहिचान तथा आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।
त्यसैगरी, आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरी अनुदान सम्झौता सम्पन्न भएका ३०२ जना लाभग्राहीलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले (पहिलो र दोस्रो ) किस्ताबापत कुल १ करोड ५१ लाख रुपैयाँ निकासा गर्न जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमसमक्ष आवश्यक कागजातसहित सिफारिस गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष तथा समितिका संयोजक गनेशकुमार केसीले जानकारी दिनुभयो ।
बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । साथै बैठकले भूकम्प प्रभावित नागरिकको पुनर्निर्माण कार्यलाई छिटो, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । त्रिवेणीमा केही भूकम्पपीडितले पहिलो र दोस्रो किस्ता पाएपनि केही भूकम्पपीडितले भने पहिलो किस्ता समेत पाउन सकेका छैनन् ।





-1759842583.jpg)