कृषि विकास कार्यालय रुकुम पश्चिमले ठुलो मात्रामा फलफूलका बिरुवा वितरण गरेको छ । बितेको आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयले साढे ७ हजार आँप र लिचिका बिरुवा ५० प्रतिशत सहुलियतमा कृषकलाई वितरण गरेको हो ।
फलफूल बगैँचा स्थापना तथा विकास कार्यक्रमबाट कृषकहरूलाई आँप र लिचिका सात हजार चार सय बिरुवा वितरण गरिएको कृषि विकास कार्यालयका कृषि अधिकृत महेश चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो कार्यक्रम सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकाका लागि लक्षित रहे पनि त्यहाँ पुगेर अन्य पालिकाकाका कृषकलाई समेत वितरण गरिएको छ ।
दशहरी र अम्रपाली गरी दुई जातको आँप र लिचि वितरण गरिएको उहाँको भनाई छ । तीन हजार पाँच सय वटा दशहरी आँप, दुई हजार पाँच सय वटा अम्रपाली आँप र दुई हजार चार सय वटा लिचि वितरण गरिएको चन्दले बताउनुभयो ।
दशहरी आँप प्रति बिरुवा ४१ रुपैयाँ र अम्रपाली आँप प्रति बिरुवा ५६.५ रुपैयाँ र लिचि प्रतिबिरुवा ४१ रुपैयाँमा वितरण गरिएको उहाँले बताउनुभयो । ढुवानी सबै कार्यालयले गरेको हो भने बिरुवामा ५० प्रतिशत कृषकको लगानी रहेको बताइएको छ ।

यसका लागि कार्यालयको ६ लाख ९ हजार ९७ रुपैयाँ रहेको थियो । सोही बराबरको लगानी कृषकबाट भएको कार्यालयले जनाएको छ । कृषकलाई फलफूल खेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले बिरुवा वितरण गरिएको कृषि विकास कार्यालयको भनाई छ ।
रोड कोरिडोर क्षेत्रलाई लक्षित गरेर बिरुवा वितरण गरिएको र उत्पादनपछि बजारीकरणका लागि समेत टेवा पुग्ने कार्यालयको विश्वास रहेको छ । अनुदानमा बिरुवा वितरण गरिएपछि कृषकहरूले खुसी व्यक्त गरेका छन् । आधा मूल्यमा गुणस्तरीय बिरुवा प्राप्त गरेपछि कृषकहरूले खुसी व्यक्त गरेको कार्यालयले जनाएको छ ।






-1759842583.jpg)