रुकुम पश्चिममा सानीभेरी नदीमा माछा मार्ने क्रममा एक व्यक्ति बगेर बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ माछिमी र बाँफिकोट गाउँपालिका १० ठाँटीको बिचमा सानीभेरी नदीमा माछा मार्ने क्रममा बाँफिकोट गाउँपालिका १० का ३४ वर्षीय देव ओली बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज अपराह्न तिर एक जना साथीसँग माछा मार्न नदीमा पसेका ओली बगेर बेपत्ता हुनुभएको हो । दुई जना माछा मार्न नदीको बिच भागमा रहेको टापुमा जाँदै गरेको अवस्थामा ओली बगेको डिएसपी पौडेलले बताउनुभयो ।
ओलीसँग गएका साथी भने टापुमा पुग्न सफल भएको तर जाल सहित गएका ओली भने टापुमा नपुग्दै बगेको खबर प्राप्त भएको उहाँले बताउनुभयो । बेपत्ता ओलीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीका लागि खटिएको छ । त्यस्तै स्थानीयको समेत समेत सहयोग रहेको डिएसपी पौडेलले जानकारी गराउनुभयो ।
बर्खा याममा नदीको बहाव निकै ठुलो रहेकोले खोजीमा समस्या भइरहेको समेत उहाँले बताउनुभयो ।





-1759842583.jpg)