Kakhara सबैको खबर सम्पूर्ण खबर
कारागारको भ्यान र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका निवासको शव ४ दिनपछि उठ्यो  

साउन २१ गते बिहीबार मुसिकोट नगरपालिका वडा नम्बर ८ को ताँवलेमा भएको दुर्घटनामा ज्यान गुमाएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ का १८ वर्षीय निवास बोहराको शव आफन्तले बुझेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको अध्यक्षतामा भएको बैठकमा भएको सहमति बमोजिम पीडितका परिवारले शव बुझेका हुन् । 

बैठकको सहमति अनुसार जिल्ला अस्पताल सल्लेमा पोस्टमार्टम भएको र त्यस पश्चात् परिवारले शव बुझेर लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारले कानुन अनुसार बिमाको ५ लाख पाउने छन् भने जिल्ला कारागार कार्यालयको तर्फबाट ५० हजार किरिया खर्च प्रदान गरिएको छ । 

त्यस्तै पीडित परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितताका लागि पहल गर्ने निर्णय भएको छ । दुर्घटनामा ज्यान गुमाएका निवासका आमा बुवा वृद्ध रहेको पारिवारिक अवस्था एवं कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै निजको परिवारको एक जना सदस्यलाई आठबिसकोट नगरपालिकाबाट रोजगारीको सुनिश्चितता गर्न लेखी पठाउने तथा जिल्लाका सङ्घ, प्रदेश र स्थानीय तहका निकायमा रोजगारीको सुनिश्चितताको लागि पहल गर्ने सहमति भएको छ । 

उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने समेत निर्णय भएको डिएसपी पौडेलले जानकारी गराउनुभयो । जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल र पीडित पक्षको उपस्थितिमा भएको बैठकले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 

मध्य पहाडी लोक मार्गअन्तर्गत ताँवले क्षेत्रमा कारागार कार्यालय रुकुम पश्चिमको बा.प्र.-०३००१ च ३९५६ नम्बरको रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतबाट थुनुवा कैदी लिएर रुकुम पश्चिम तर्फ आइरहेको  भ्यान र रुकुमकोट तर्फ गइरहेको क.प्र.-०३००१ प ०७६९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा आठबिसकोट ७ का निवास बोहराको मृत्यु भएको थियो । 

दुर्घटनामा मोटरसाइकलमा सवार आठविसकोट नगरपालिका-१० का २० वर्षीय गणेश शाही गम्भीर घाइते हुनुभएको थियो । घाइतेको उपचार चलिरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update