शुक्रवार माछा मार्न सानीभेरी नदीमा बगेर वेपत्ता रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० का ३४ वर्षीय देव ओलीको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । एक जना साथीसँग सानीभेरी नदीमा माछा मार्न गएका ओली शुक्रवार अपराह्नतिर नदीमा बगेर बेपत्ता हुनुभएको थियो ।
घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् उद्धार टोली खटिएको थियो । स्थानीय समेतको सहयोगमा खोजी गर्दा पनि ओलीको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
ओली सानीभेरी नदीको मुसिकोट नगरपालिका ३ माछिमी र बाँफिकोट गाउँपालिका १० ठाँटीको बिच क्षेत्रबाट बेपत्ता हुनुभएको थियो । बगेको भन्दा मुनीतिरको स्थानमा खोजी गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको डिएसपी पौडेलको भनाई छ ।
ओलीको हुलिया सहित जाजरकोट, सल्यान र सुर्खेत जिल्लामा पर्ने विभिन्न प्रहरी युनिटहरूमा पनि जानकारी गराइसकिएको उहाँले बताउनुभयो । ओली सहित दुई जना माछा मार्न नदीको बिच भागमा रहेको टापुमा जाँदै गरेको अवस्थामा ओली बगेर बेपत्ता हुनुभएको हो ।
बर्खा याममा नदीको बहाव निकै ठुलो रहेकोले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।





-1759842583.jpg)