Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सर्पको टोकाइबाट चार घाइते 
फाइल फाेटाे ।

गर्मी र वर्षायामसँगै रुकुम पश्चिममा सर्पदंशका घटना बढ्न थालेका छन् । पछिल्लो दुई दिनमा जिल्लाका विभिन्न स्थानमा सर्पले टोकेर चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार हिजो र आज सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका विभिन्न स्थानमा चार जनालाई सर्पले टोकेको छ । चारै जनाको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीको जिल्ला प्रहरी कार्यालय  रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सानीभेरी गाउँपालिका–२ गिठाकोटकी २२ वर्षीया कोपिला महतारालाई हिजो साँझ करिब ७ बजे घरनजिकै खेतबारीमा घाँस काट्ने क्रममा सर्पले बायाँ हातमा टोकेको थियो उहाँको मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । त्यसै दिन राति करिब ८ः३० बजे चौरजहारी नगरपालिका–८ चिप्लेटीकी २३ वर्षीया दिपा विकलाई घरनजिकै खेतबारीमा हिँड्ने क्रममा सर्पले दाहिने खुट्टामा टोकेको थियो । उहाँको मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो ।

त्यस्तै चौरजहारी नगरपालिका–१ लामाछिनेकी २२ वर्षीया कमला विकलाई सोही दिन बिहान करिब ११ बजे माइतीघर सल्यानको कुमाख गाउँपालिका–६ गएको अवस्थामा घरनजिकै बारीमा घाँस काट्ने क्रममा सर्पले बायाँ खुट्टाको कुर्कुच्चामा टोकेको थियो । उहाँको मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।  त्यसैगरी सानीभेरी गाउँपालिका–३ ज्यामिरेकी  २५ वर्षीया अमृता बिष्टलाई आज बिहान करिब ५ः३० बजे घरको कोठामा सुतिरहेको अवस्थामा सर्पले दाहिने कानमा टोकेको थियो ।  उहाँको कर्णाली प्रदेश प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 


खेतबारीमा काम गर्दा सावधानी अपनाउन आग्रह
गर्मी र वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले खेतबारीमा काम गर्दा तथा रातिको समयमा हिँडडुल गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । प्रहरीले सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पु¥याउन समेत अनुरोध गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update