जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाको बजार अनुगमनलाई तीव्रता दिँदै १३ पटक बजार अनुगमन गरेको जनाएको छ । कार्यालयले वर्षभरिमा १६० वटा पसल तथा व्यवसायको निरीक्षण गर्दा ठूलो परिमाणमा म्याद नाघेका सामग्री फेला पारी नष्ट समेत गरेको जनाएको हो । गत आर्थिक वर्षमा २०८२०८३ मा बजार अनुगमनका क्रममा १ लाख ६६ हजार ३१४ बराबरका म्याद नाघेका सामान नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नियमविपरीत सञ्चालन भएका तथा अनुगमनका क्रममा कैफियत देखिएका विभिन्न व्यवसायीलाई २५ हजार जरिवानामा समेत पारिएको थियो ।
कार्यालयले मासु पसल, किराना पसल, होटल तथा फार्मेसी लगायतका व्यवसायमा नियमित अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा पसलमा राखिएका वस्तुको म्याद, गुणस्तर, मूल्य तथा व्यवसाय सञ्चालनको अवस्थालगायत विषयमा निरीक्षण गरिएको थियो । म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त सामग्रीको बिक्री–वितरण रोक्नुका साथै व्यवसायीलाई प्रचलित कानुन तथा उपभोक्ता हितसम्बन्धी व्यवस्थाबारे सचेत गराउने कामसमेत अनुगमनका क्रममा गरिएको प्रशासनले जनाएको छ ।
बजारदेखि विकास आयोजनासम्म निगरानी
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनसँगै सरकारी कार्यालय, कारागार, विकास आयोजना तथा आरसीआईपी सडक आयोजना, एलपी ग्यास वितरणमा सहजता, प्रहरी कार्यालय तथा सुरक्षा युनिट समेत अनुगम गरेको जनाएको छ । त्यस्तै सडक तथा निर्माण कार्य र सवारीसाधनलगायतका क्षेत्रमा समेत निरीक्षण तथा अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो । अनुगमनले बजारमा हुने अनियमितता नियन्त्रण, उपभोक्ताको अधिकार संरक्षण तथा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन प्रशासनको निगरानी बढेको समेत देखिन्छ ।
आगामी दिनमा पनि बजार अनुगमन तथा विकास आयोजनाहरुलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने योजनामा लागेकाे जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)