सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलामा अवस्थित महाकाली माविलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार डेस्क, बेन्च र ह्वाइट बोर्ड सहयोग गरेको हो ।
पठन पाठनमा सहज होस भनेर विद्यालयलाई स्तरीय १५ सेट डेस्क बेन्च र ५ थान ह्वाइट बोर्ड हस्तान्तरण गरिएको सिद्धार्थ बैंक मुसिकोट शाखाका अपरेसन अफिसर दीपक केसीले जानकारी दिनुभयो । एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको उहाँको भनाई छ ।
विद्यार्थीहरूको बसाई व्यवस्थापनमा सहजता आओस् र पठन पाठनमा सहयोग पुगोस् भनेर विद्यालयलाई सहयोग गरिएको बैंकका मुसिकोट शाखा प्रमुख धर्मनन्द अवस्थीले जानकारी गराउनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका शाखा प्रमुख अवस्थी, विद्यालयका प्रधानाध्यापक लोकबहादुर खड्का, विव्यस, शिक्षक अभिभावक संघ, बैंकका अपरेसन अफिसर दीपक केसी, कर्जा प्रमुख तेजसिंह कुड्माल, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

सामग्री प्राप्त गरेपछि विद्यालयले खुसी व्यक्त गरेको छ । विद्यालयका प्रधानाध्यापक खड्काले विद्यालयमा निकै महत्त्वपूर्ण सामग्री प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभयो भने बैंकलाई धन्यवाद दिनुभयो । यो सहयोगले विद्यालयमा पठन पाठन सञ्चालन गर्न थप सहजता हुनुका साथै विद्यार्थीहरूको सिकाइमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्राप्त सामग्रीको सदुपयोग र संरक्षणमा विशेष ध्यान दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कार्यक्रमका सहभागीहरूले समेत महत्त्वपूर्ण सहयोग गरेको भन्दै सिद्धार्थ बैंकलाई धन्यवाद दिएका थिए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरू गर्दै आएको शाखा प्रमुख अवस्थीले बताउनुभयो । उहाँका अनुसार बैंकले विशेष गरी शिक्षामा लगानी गरिरहेको छ । भविष्यका कर्णधार बालबालिकामा लगानी गरेर शिक्षाको गुणस्तर वृद्धि गर्ने र बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्य राखिएको शाखा प्रमुख अवस्थीले जानकारी दिनुभयो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म ४ वटा विद्यालयमा विभिन्न सहयोग गरेको छ । भूकम्प प्रभावित सानीभेरी गाउँपालिका वडा नम्बर १ को जनप्रिय मावि भण्डारबनमा १ करोड बढीको लागतमा २ तले विद्यालय भवन समेत निर्माण गरिदिएको छ ।
यसका साथै मुसिकोट नगरपालिका ५ थर्पुमा अवस्थित प्रसिद्ध डिग्रे साइकुमारी मन्दिरमा सत्यनारायणको मन्दिर मर्मत, बली स्थानको घरबार लगायतका काम समेत गरिसकेको बैंकले जनाएको छ ।





-1759842583.jpg)