रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ सिस्नेखाेलाका एक युवक सालको रुखबाट खसेर गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार राति करिब १२ः३० बजे सिस्नेखाेला निवासी अन्दाजी ३० वर्षीय आशिष् राज खड्का घर नजिकैको कैल्दउ भन्ने स्थानमा सालको रुखमा चढेर अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते हुनुभएको हो ।
उहाँ रुखबाट करिब १० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार खड्काको मेरुदण्डलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनाबारे जानकारी प्राप्त भएपछि विमानस्थल सुरक्षा गार्ड सल्लेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले घाइते खड्काको तत्काल उद्धार गरी उपचारका लागि स्वास्थ्य सेवा कार्यालय सल्ले, रुकुम पश्चिम पुर्याएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि खड्कालाई नेपालगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक परियारले जानकारी दिनुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





