रुकुम पश्चिममा नयाँ यातायात प्रालि सञ्चालनमा आएको छ । संयुक्त रुकुम यातायात प्रालि सञ्चालनमा आएको हो । मध्य पहाडी लोक मार्ग हुँदै काठमाडौँ देखि रुकुम पश्चिम र रुकुम पश्चिम देखि काठमाडौँसम्म यातायात सेवा दिने गरी प्रालिले तीन वटा एसी स्लिपर गाडी जिल्ला भित्र्याएको छ । बिहीबार जिल्लामा तीन वटा स्लिपर गाडीलाई भव्य स्वागत गरिएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ४ को शितलपोखरी देखि बाजागाजा र मयुर नाच सहित गाडी वडा नम्बर १ को सल्लेसम्म पुर्याइएको प्रालिका अध्यक्ष डम्बर थापाले बताउनुभयो । उहाँका अनुसार स्तरीय यातायात सेवा प्रदान गर्ने गरी प्रालि सञ्चालनमा ल्याइएको हो । अब जिल्लावासीले रुकुम पश्चिम देखि काठमाडौँ र काठमाडौँ देखि रुकुम पश्चिमसम्म स्तरीय स्लिपर (सुतेर यात्रा गर्ने सुविधा) सहितको सेवा पाउने उहाँले बताउनुभयो ।

गाडीमा स्तरीय सोफा सिट रहेको उहाँले बताउनुभयो । गाडीमा यात्रा गर्नेहरूले अहिलेसम्मको तुलनामा स्तरीय सेवाको महसुस गर्न पाउने उहाँको भनाई छ । यात्रुमैत्री सुरक्षित र गुणस्तरीय सेवा आफूहरूको मुख्य विशेषता रहेको अध्यक्ष थापाले बताउनुभयो । अहिले तत्काललाई ४ वटा स्तरीय एसी स्लिपर बस सञ्चालन हुने र बिस्तारै सेवा थप गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
एउटा बस काठमाडौँमै रहेको र तीन वटा जिल्ला ल्याइपुर्याइएको हो । साढे ४ करोडको लगानीमा एसी स्लिपर गाडीको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी गराउनुभयो । यात्रुहरूलाई अन्य गाडीको तुलनामा थप सेवा सुविधा समेत रहेको उहाँले बताउनुभयो । यात्रुले स्तरीय सुविधा पाउनुका साथै २० जना बढीले रोजगारी समेत पाउने प्रालिले जनाएको छ ।

बिहीबार जिल्लामा गाडी भित्र्याइए पनि सेवा भने भदौ १ गतेबाट सुरु हुने छ । रुकुम पश्चिमबाट भदौ १ गते काठमाडौँका लागि पहिलो गाडी छुट्ने छ भने काठमाडौँबाट भदौ ३ गते गाडी छुट्ने छ । त्यसपछि नियमित रूपमा दैनिक रुकुम पश्चिमबाट काठमाडौँका लागि एउटा र काठमाडौँबाट रुकुम पश्चिमका लागि एउटा गाडी छुट्ने प्रालिले जनाएको छ ।
अब जिल्लावासी सहित रुकुम पूर्व, बागलुङ लगायत जिल्लाका यात्रुहरूले समेत सेवा पाउने प्रालिको भनाई छ । जिल्लामा यसअघि कमल ताल यातायात प्रालिले पहिलो पटक एसी स्लिपर गाडी भित्र्याएको थियो ।








-1759842583.jpg)