Kakhara सबैको खबर सम्पूर्ण खबर
रोल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ८ जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनामा ८ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन् । त्यस्तै पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहेका छन्  ।

अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिएपछि ठूलो मानवीय क्षति भएको हो। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीयवासी परिचालन भएका छन् । घटनाको थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update