रुकुम पश्चिममा लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने एक जना पक्राउ परेका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्तिमाथि निगरानी बढाउने उद्देश्यले गरिएको संयुक्त चेकजाँचका क्रममा एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, स्वास्थ्य सेवा कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त टोलीले बिहीबार दिउँसो मध्यपहाडी राजमार्गअन्तर्गत मुसिकोट नगरपालिका–५ सेरीगाउँमा सवारी चालकहरूको मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) सम्बन्धी परीक्षण गरेको थियो ।
जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका इन्चार्ज नवीन अधिकारीका अनुसार चेकजाँचका क्रममा १० जना सवारी चालकको परीक्षण गरिएको थियो । परीक्षण गरिएका चालकहरूमध्ये एक जनाले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मोटरसाइकल चलाइरहेको अवस्थामा चेकजाँचमा परेका थिए । लागुऔषध सेवन गरी सवारी चलाएको पाइएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पठाइएको हो ।
चेकजाँचका क्रममा अन्य चालकहरूको समेत मादक पदार्थ तथा लागुऔषध सेवनसम्बन्धी परीक्षण गरिएको थियो। तर, पक्राउ परेका एक जनाबाहेक अन्य चालकमा लापसे सेवन गरेको नदेखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
लापसे गरी सवारी चलाउने चालकको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
सवारी चलाउँदा मादक पदार्थ तथा लागुऔषध सेवन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउनुका साथै चालक, यात्रु तथा सडकमा हिँड्ने अन्य व्यक्तिको सुरक्षामा समेत गम्भीर असर पार्ने भएकाले प्रहरीले पछिल्लो समय यस्ता गतिविधिमाथि निगरानी बढाएको छ ।
जिल्ला ट्राफिक कार्यालयले सवारी चालकलाई मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी नचलाउन आग्रह गर्दै नियमित रूपमा मापसे तथा लापसे परीक्षणलाई निरन्तरता दिने जनाएको छ । विशेषगरी मुख्य राजमार्ग तथा बढी सवारी आवागमन हुने क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।





-1759842583.jpg)