भारी वर्षाका कारण मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले १२ घण्टाका लागि सवारी आवागमनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले शुक्रबार सूचना जारी गर्दै साउन २९ गते बेलुकी ७ बजेदेखि साउन ३० गते बिहान ७ बजेसम्म मध्यपहाडी राजमार्ग भएर चल्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । साउन २८ गतेदेखि परेको भारी वर्षाका कारण भूमे गाउँपालिका क्षेत्रअन्तर्गत काँडाबगर र धौलापहिरा क्षेत्रमा पहिरो खसेर सडक पटक पटक अवरुद्ध हुने गरको जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले जनाएको छ ।
लगातार वर्षा भइरहेकाले सडकमा थप पहिरो तथा अवरोध आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार अझै केही दिन वर्षाको सम्भावना रहेकाले जिल्ला सुरक्षा समितिको बैठकले राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोक्ने निर्णय गरेको हो ।
प्रशासनले यात्रुलाई मौसमको पूर्वानुमान, वर्षाको अवस्था र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ । साथै, दिउँसोको समयमा समेत मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सबैमा अनुरोध गरिएको छ । यसअघि पनि भारी वर्षापछि मध्यपहाडी राजमार्गको रुकुम पूर्व–बागलुङ खण्डमा काँडाबगर र धौलापहिरालगायतका स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध गरेको थियो । पछिल्लो पटक करिब १७ घण्टापछि सडक सञ्चालनमा ल्याइए पनि जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुकुप पूर्वले जनाएको छ ।





-1759842583.jpg)