गए राति तासुघाट खोलामा आएको बाढीका कारण ५ वटा घर तथा टहरा बगेका छन् । नलगाड नगरपालिका—१०, तासुघाटमा आएको बाढीले रोली गाउँका ५ जना दलित समुदायका व्यक्तिका घर तथा टहरा बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार, बाढीबाट ५ वटा घर तथा टहराका ३८ जना प्रभावित बनेका छन् ।
‘रोली बस्ने पृथ्वी बहादुर विकको ढुङ्गा माटोले बनेको र ढुङ्गाले नै छाएको २ तले घर बगाएको छ,’ उहाँले भन्नुभयाे ‘यो परिवारमा ९ जना छन् ।’
यस्तै, खैते विकको पनि ढुङ्गा माटोले बनाएको २ तले घर बगाएको छ भने १० को परिवार प्रभावित बनेको छ ।
नर बहादुर विकको ३ तले घर बगाउँदा १० र हस्त विकको ढुङ्गा माटोले बनेको र टिनले छाएको २ तले घर बगाउँदा ८ जनाको परिवार प्रभावित भएको खड्काले बताउनुभयाे ।
यस्तै, वीर बहादुर विकको जग्गामा सुन्तली विकले सञ्चालन गर्दै आएको टिनको टहरा (नास्ता पसल) पनि बाढीले बगाएको छ । अहिले सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी सूचना अधिकारी खड्काले बताउनुभयाे ।
बाढीबाट प्रभावित क्षेत्र भेरी कोरिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा पर्छ । बाढीका कारण भेरी कोरिडोर पनि अवरुद्ध भएको छ ।
‘खोलामा पानीको बहाव उच्च हुँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको र वैकल्पिक मार्ग समेत नभएको अवस्था छ,’ उहाँले भन्नुभयाे ।
साथै, सोही वडाको रोली स्थित तासुघाट खोलामा रहेको झोलुङ्गे पुलको पश्चिम तर्फको भाग पनि बाढीले बगाएको छ ।
बाढी प्रभावित क्षेत्रमा प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमान्डमा १४ जनाको टोली परिचालन गरिएको छ ।





-1759842583.jpg)