रोल्पाको सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो पटक एक महिलाको शव फेला परेसँगै पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको हो । सुनछहरी गाउँपालिका–२ मङरारुकी करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता हुनुभएको थियो । उहाँको शुक्रबार दिउँसो करिब २ः३० बजे खोजी गर्ने क्रममा भान्साघरमा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यसअघि सुनछहरी गाउँपालिका–२ फलबाङमा साउन २९ गते बिहान करिब ८ः१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिँदा वीरबहादुर घर्ती मगर, उहाँकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर बेपत्ता हुनुभएको थियो । उहाँहरु राति वीरबहादुरको घरमा बसेका बेला पहिरो गएको थियो ।
त्यस्तै, सोही वडाको गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको थियो । लामी घर्तीको शव फेला परेसँगै फलबाङ र मङरारुमा पहिरोका कारण बेपत्ता रहेका सबैको पहिचान खुलेको हो । घटनामा चार जनाको मृत्यु भएको छ । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी तथा उद्धार गरेका थिए ।





-1759842583.jpg)