रुकुम पश्चिममा २० जना व्यक्तिको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित सर्जिकल आँखा उपचार केन्द्र रुकुम पश्चिमको आयोजनामा २० जना व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा सशुल्क प्रिमियम फेको प्रविधिबाट ४ जना र अत्याधुनिक फेको प्रविधिबाट १६ जना गरी जम्मा २० जनाको आँखाको शल्यक्रिया गरिएको सर्जिकल आँखा उपचार केन्द्र रुकुम पश्चिमका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शल्यक्रियाका लागि राप्ती आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा जलविन्दु रोग विशेषज्ञ सहायक प्रा।डा। रञ्जितकुमार साहको नेतृत्वमा आएको विशेषज्ञ टोलीले सेवा दिएको थियो । आँखाको मोतीबिन्दु लगायतका समस्याबाट प्रभावित बिरामीलाई जिल्लामै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शल्यक्रिया सेवा सञ्चालन गरिएको केसीले बताउनुभयो । शल्यक्रियापछि बिरामीलाई आवश्यक औषधि तथा उपचारसम्बन्धी परामर्शसमेत प्रदान गरिएको उहाँको भनाइ छ ।
रुकुम पश्चिममै अत्याधुनिक प्रविधिबाट आँखाको शल्यक्रिया सेवा उपलब्ध भएपछि जिल्लाका नागरिकलाई उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।





-1759842583.jpg)