Kakhara सबैको खबर सम्पूर्ण खबर
संयुक्त रुकुमका गाडीमा यात्रा गरे स्कुटर जित्ने अवसर 

रुकुम पश्चिममा नयाँ सञ्चालनमा आएको संयुक्त रुकुम यातायात प्रालिले यात्रुहरूका लागि बम्पर अफरको घोषणा गरेको छ । यस प्रालिका गाडीमा यात्रा गरे दैनिक तथा वार्षिक रूपमा बम्पर उपहार पाउन सकिने छ । 

प्रालिले भदौ १ गते रुकुम पश्चिमबाट काठमाडौँका लागि सेवा सुरु गर्दै छ । रुकुम देखि काठमाडौँ वा काठमाडौँ देखि रुकुमका लागि यात्रा गर्ने भाग्यशाली यात्रुले टिकेट शुल्क फिर्ता पाउने प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रत्येक दिन गोला प्रथाको व्यवस्था गरिएको र एक जना भाग्यशाली विजेताले टिकेट शुल्क शतप्रतिशत फिर्ता पाउने छन् । प्रत्येक गाडीमा गोला प्रथाको व्यवस्था रहेको उहाँको भनाई छ । त्यस्तै अहिले तत्काल यात्रुहरूले टिकेटमा १० प्रतिशत छुट पाउने छन् । 

वार्षिक रूपमा भने स्कुटर जित्ने बम्पर अफरको व्यवस्था रहेको अध्यक्ष थापाले जानकारी गराउनुभयो । वर्षभरिमा टिकट काटेर यात्रा गर्ने यात्रुहरू मध्ये १ जना भाग्यशाली यात्रुले स्कुटर जित्ने अवसर रहेको उहाँले बताउनुभयो । वर्ष भरीमा काटिएका टिकटका बिचमा गोला प्रथा गरिने र एक जना भाग्यशाली यात्रुले स्कुटर जित्ने अवसर रहेको उहाँले बताउनुभयो । 

यसका साथै बसमा यात्रा गर्ने यात्रुहरूलाई गुणस्तरीय सेवामा विशेष जोड गरिएको प्रालिले जनाएको छ । हरेक यात्रुलाई निःशुल्क पानी र बिस्कुटको व्यवस्था रहेको बताइएको छ । त्यस्तै महिला यात्रुहरूलाई लक्षित गरेर सेनेटरी प्याडको समेत व्यवस्था गरिएको छ । जसले गर्दा महिलाहरूलाई यात्राको क्रममा हुन सक्ने महिनावारीका क्रममा सहज हुने प्रालिको विश्वास छ । 

संयुक्त रुकुम यातायात प्रालि जिल्लामा नयाँ थपिएको हो । उसले तीन वटा सुविधा सम्पन्न एसी स्लिपर गाडी जिल्ला भित्र्याइसकेको छ । उसले पर्सी भदौ १ गतेबाट मध्य पहाडी लोक मार्ग हुँदै रुकुम पश्चिम देखि काठमाडौँ तथा काठमाडौँ देखि रुकुम पश्चिमका लागि सेवा प्रदान गर्दै छ । प्रालिले अहिले तत्काल चार वटा सुविधा सम्पन्न एसी स्लिपर (सुतेर यात्रा गर्न सकिने) बस सञ्चालन गर्दै छ ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update