जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् । साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो ।
पहिरोका कारण घर भत्किनुका साथै जोखिममा परेका मानिसको उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली परिचालन गरिएको छ । पहिरोका कारण भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ भने घरमा रहेका पाँच जना परिवार भने आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ती टहरामा हाल मानिस बसोबास भने नगर्ने पाइएको छ ।
१० जना घाइते
पहिरोमा परी घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा रहेका छन् ।
घाइतेमध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। भद्राकली कार्कीलाई पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि राति ९ः१५ बजे सुर्खेत रिफर गरिएको छ । त्यस्तै, केदार कार्कीलाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि राति १०ः५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल जाजरकोट तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
तीन जना सम्पर्कविहीन
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन तीनै जनाको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।
पहिरोका कारण घटनास्थलमा थप क्षति भएको हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको छ । घटनास्थलको अवस्था र क्षतिको थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।





-1759842583.jpg)