Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोटमा पहिराेमा पुरिएका आमा-छोरा मृत फेला, एक जना बेपत्ता

जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला परेका छन् ।

शनिवार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ बर्सिया ओमसिंह खत्री मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो ।

शनिवार बेलुकी नै सोही वडाको चिसापानीमा पनि पहिरो खसेको थियो । पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता हुनुहुन्छ । ५२ बर्सिया केदार कार्कीलाई उद्धार गरी उपचार लागि नेपालगन्ज पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार जारी छ ।

अहिले घटना स्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डिएसपी बुद्धीसागर पुरीले जानकारी दिनुभयाे ।

घटना स्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको कारण समस्या भइरहेको उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update