जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बाढी र पहिरोको जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
निरन्तर वर्षाका कारण भेरी नदीको जल स्तर बढिरहेको तथा गाउँ–बस्ती क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने अवस्था रहेकाले सम्पूर्ण नागरिकमा विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध छ, प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
भेरी नदीको पानी बढ्नु, बस्तीमा पानी पस्न थाल्नु, जमिन चर्किनु, पहिरोको सङ्केत देखिनु, ढुङ्गा–माटो खस्नु, असामान्य आवाज आउनु जस्ता विपद्का सङ्केत देखिएमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
जोखिमका सङ्केत देखिएमा वा विपद्का घटना भएकामा प्रशासनको १२३४, नेपाल प्रहरी–१००, स्थानीय प्रहरी, वडाध्यक्ष, वडा सदस्य, स्थानीय विपद् फोकल पर्सन, विपद् स्वयंसेवक वा विपद् सूचकलाई तत्काल खबर गर्न आग्रह गरिएको छ ।
साथै जोखिममा रहेका छिमेकीलाई पनि जानकारी गराउन, विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य बढी जोखिममा रहेका व्यक्तिलाई उद्धारका लागि सम्बन्धित निकायसँग पहल गर्न समेत प्रशासनको आग्रह छ ।
प्रशासन वा स्थानीय तहको निर्देशन कुर्दाकुर्दै जोखिम नबढाउन, आफ्नो ज्यान पहिलो प्राथमिकता राखी सुरक्षित स्थानतर्फ जान तयार रहन तथा स्थानान्तरण गर्न पनि प्रशासनको अपिल छ । त्यस्तै प्रशासनले जोखिममा रहेकाहरूलाई सरोकारवालाहरूको सक्रियतामा उद्धार तथा स्थानान्तरण गरिने पनि जनाएको छ ।
आफू पनि सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्न तथा पहिरो वा बाढीको जोखिम भएको क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदी, खोलाको किनारमा नजान, जोखिमको सङ्केत देखिएमा “केही हुँदैन” भनेर बेवास्ता नगर्न प्रशासनको आग्रह छ ।





-1759842583.jpg)